चापाकोटमा बाख्रालाई पिपिआर खोप

२०८० बैशाख १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १ वैशाख । चापाकोट नगरपालिकाले किसानले पालेका भेडाबाख्रामा निशुल्क पिपिआर खोप लगाईदिएको छ । मान्छेमा जस्तै बाख्राहरुमा पनि ज्वरो आउने, नाकबाट सिंगान बग्ने र पखला लाग्ने रोगबाट बचाउन पिपिआर खोप दिइएको हो । नगरवासीले पालेका बाख्राहरुमा रोगबाट लड्ने क्षमता बढाउन टोल—टोलमा पुगेर शिविर मार्फत खोप दिने अभियान गरेको नगर प्रमुख देवबहादुर खाँण (इश्वर) ले जानकारी दिए । चापाकोट नगरपालिका भित्र रहेका सबै नागरिकको स्वास्थ्य शिविर मार्फत स्वास्थ्य परिक्षण पछि हामी पशुपंक्षीमा लागेका हौं उनले भने,‘अहिले बाख्रा र भेडालाई पिपिआर खोप दिएका छौं ।’ यसपछि कुखुरा, गाईभैसीमा पनि खोप दिने अभियान सन्चालन गर्दै छौं उनले भने ।

नगरपालिका भित्र रहेका ११ हजार ५ सय भेडाबाख्रामा पिपिआर खोप लगाइएको छ । चापाकोट नगर पशुशाखाका अनुसार ३६ भेडा र अरु सबै बाख्रामा यो खोप लगाइएको जनाएको छ । चापाकोट नगरपालिका र किसान प्राविधिक शिक्षालय चापाकोटको ३८ जना प्राविधिक टोलीले हरेक टोलमा पुगेर किसानका बाख्रामा खोप लगाइएको पशुशाखाका प्रमुख भुपराज भण्डारीले जानकारी दिए । असार साउनमा बाख्रलाई ज्वरो आउने, घासपात नखाने, झोक्राउने लगायतका रोग देखिन्छ उनले भने,‘यसको नियन्त्रणका लागि ५ महिना अगाडी लगाएको भ्याक्सिनले काम गर्छ ।’ सरुवा रोग भएकाले यसलाई नियन्त्रण गर्न यो खोपले मद्त पुग्ने उनले बताए । पशु ज्ञान केन्द्रले भ्याक्सिन र नगरपालिकाले प्राविधिक टोली खटाएर खोप लगाइएको भण्डारीले बताए ।

जिल्लाका केही पालिकामा अज्ञात रोगले बाख्राहरु मर्न थालेपछि चापाकोट नगरपालिकाले किसानले पालेका भेडाबाख्रा सुरक्षित गर्ने दायीत्व स्थानीय सरकारको रहेको भन्दै चापाकोट नगरपालिकाले खोप दिने व्यवस्था अगाडी सारेको हो । टोल टोलमै पुगेर वडा कार्यालयको समन्वयमा सेवा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताए । किसानले पालेका ११ हजार ४ सय ७४ बाख्रा र ३६ वटा भेडा गरी ११ हजार ५ सय भेडा बाख्रामा १७ गते देखि सुरु गरेर २८ गते सम्म १० वडाका सबै टोलमा पुगेर खोप लगाएको खनालले बताए । स्थानीय सरकार छ भन्ने महशुष नागरिकमा गराउन पनि यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने खनालले दावी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय