लुम्बिनी, ३० वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट(२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवद्र्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
लुम्बिनीमा तीन दिनसम्म आयोजना गरिएको बुद्धिष्ट मार्टमा जारी सात बुँदे लुम्बिनी घोषणापत्रमा बुद्धसँग सम्बन्धित चार प्रमुख पवित्रस्थल लुम्बिनी, बोधगया, शारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्धस्थलमा विस्तार गर्ने, प्रवद्र्धनका लागि साझा कथा विकास गर्नेसमेत उल्लेख गरिएको छ ।
घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध ९शाक्यमुनि० को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुआत बिन्दु र शान्ति गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, लुम्बिनी र अन्य बौद्धस्थलमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिसहितको साझा प्याकेज विकास गर्ने, पर्यटकलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिलाई प्राथमिकता दिने उल्लेख छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल(नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्यमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।
सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्नेसमेत जनाइएको छ । मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताउनुभयो ।
उहाँले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । “लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिडपछि शिथिल भएको पर्यटनलाई पुनःजागृत गर्न र लुम्बिनीको महत्वलाई थप उजागर गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो ।
लुम्बिनी विश्वविद्यालयका डीन डा मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताउनुभयो । कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा डा हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण कार्यक्रमका रुपमा विकास हँदै गइरहेको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने बताउनुभयो । मार्टका अवसरका विभिन्न क्षेत्रका विद्धानले बुद्ध दर्शन, बुद्ध पर्यटन बुद्धमार्गी देशसँगको सहकार्यलगायका विभिन्न विषयमा सामूहिक छलफल भएको थियो ।
मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यान्मा, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट २८ वटा ट्राभल÷टुर कम्पनीको सहभागिता थियो । कार्यक्रममा स्वदेशी तथा विदेशी विज्ञद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटनलगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।