वैदेशिक रोजगारी छाडेर पशुपालन गरेका कृषक उत्कृष्ट

२०८० असार १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बेनी, १४ असार । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट हुनुभएको छ । म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुङ्गानाले सञ्चालन गर्नुभएको ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि सम्मानको सूचीमा समावेश भएको हो ।

वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय ढुङ्गानालाई उत्कृष्ट कृषि पुरस्कारबाट शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर रू पाँच लाखको लगानीमा एउटा भैँसी र गाईबाट पशुपालन सुरु गर्नुभएका ढुङ्गानाले अहिले मनग्ये आम्दानी गर्दै आउनुभएको छ ।

वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लाग्नुभएका ढुङ्गाना यही साता बेनी नगरपालिका वडा नं ७ बाट पनि उत्कृष्ट कृषकका रुपमा सम्मानित हुनुभएको थियो ।

फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैँसीबाट दैनिक दुई सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ ।

फार्म निर्माण, गाई भैँसी खरिदलगायत कामका लागि हालसम्म रू एक करोड लगानी गरिसकेको ढुङ्गानाको भनाइ थियो । फर्ममा तीन जनाले रोजगारीसमेत पाउनुभएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुने खबरले पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुङ्गानाले बताउनुभयो । गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका पाँच जनालाई पुरस्कृत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय