विदेशमा श्रम बेचेर स्वदेश फर्किएका सिग्देलले निःशुल्क कपाल काट्ने तालिम दिँदै

२०८० श्रावण १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, १८ साउन । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका यहाँका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवाई निःशुल्क कपाल काट्ने तालिम दिन थाल्नुभएको छ । तालिमको आज एक कार्यक्रमबीच उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गर्नुभयो ।

भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन सुरु गर्नुभएको हो । तालिम उद्घाटन समारोहमा श्रेष्ठले आफूले रकम बचाएर निःशुल्क तालिम गरेकामा सिग्देललाई बधाई दिँदै सहभागीलाई तालिमपछि स्वदेशमै स्वरोजगार बन्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा निराजन भट्टराईलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । विदेशबाट फर्किएर सैलुन सञ्चालन गर्दै आउनुभएका सिग्देलले आफ्नो निजी खर्चबाट तालिम दिन लाग्नुभएको हो । उहाँका अनुसार तालिमका लागि ८३ जनाले दरखास्त दिएकामा उनीहरूबाट ३० जना छनोट गरिएको हो । तीमध्ये छ महिला छन् ।

पैतालीस दिनसम्म उहाँहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ । यससँगै उहाँहरूले आफैँले सैलुन सञ्चालन गर्न सक्ने उहाँले जानकारी दिनुभयो । शुल्क लिएर तालिम दिँदै सिग्देलले एक जनाको रु २० हजार लिने गर्नुभएको छ । सिग्देलले आफूले सैलुन सुरु गरेको १०औँ वर्षको अवसरमा जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीको निःशुल्क कपाल काट्दै आउनुभएको छ । हरेक हप्ताको शुक्रबार सैलुनका कर्मचारीले विद्यालयमै पुगेर विद्यार्थीको कपाल काट्ने र स्वस्थ रहन सुझाव दिने गरेका छन् । गएको शुक्रबार सातौँ हप्ता कपाल काटेको उहाँले बताउनुभयो । हरेक हप्ता ४५ देखि ६० जनाको कपाल उहाँको समूहले काट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय