एनआरएनए कोषाध्यक्षमा यूएईबाट ठाकुर प्रसाद ढुंगानाको उम्मेदवारी घोषणा

२०८० भाद्र ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युएई,११ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि आइसिसि कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगानाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएकाे  छ ।

आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि ढुंगानाले आइतबार यूएईमा सबै संघ सँस्थाको उपस्थितिमा र जुममार्फत पत्रकार सम्मेलन गरी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएकाे हाे ।

एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरेका ढुंगानाले आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पुर्याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताउनुभयाे ।

एनआरएनए अभियानमा लागेर ‘अतिथि देवो भव’ लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले आफ्नो कार्य अनुभव समेत प्रस्तुत गर्नुभएकाे छ । उहाँले भन्नुभयाे ,‘एनआरएनए यूएईको अध्यक्ष भएर गरेको काम र आइसीसीसँग नजिक भएर आफुलाई अगाडि बढाइरहँदा सबैको सल्लाह र सुझाव अनुसार आगामी २०२३–२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’

कोरोना महामारीका बेला श्रमिकहरुसँग नजिक रहेर काम गरेका ढुंगानाले विश्वभरका नेपालीमा आफ्नो सक्रियता देखाउनुभएकाे छ। दुई कार्यकाल आइसिसि सदस्य र एक कार्यकाल एनआरएनए युएईको अध्यक्ष भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना विश्वमा सबै गैरआवासीय नेपाली माझ परिचित हुनुन्छ ।

एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने जनाउनुभएकाे छ। एनआरएनए अभियानमा आम श्रमिकलाई जोड्न वैकल्पिक स्रोत जुटाएर समेट्ने योजना रहेको ढुंगानाको प्रतिवद्धतामा उल्लेख रहेको छ ।

केही दिनमा नै आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै विश्वमा रहेका एनआरएनएहरुसँग छलफल तथा भेटघाट गर्न निस्कने ढुंगानाले बताउनुभयाे । आइसिसिमा यूएईको गरिमामय उपस्थितिका लागि उहाँले सबै गैर आवासीय नेपालीहरुको सहयोगको अपील गर्नुभयाे । ढुंगानाले आफू यस अभियानमा केही लिन नभई दिनको लागी आएकाले विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुलाई आफ्नो अभियानलाई साथ दिन अपिल गर्नुभएकाे  छ।

एनआरएनए आइसिसिको कोषाध्यक्षमा यूएईबाट नै रामेश्वर शाहले यस अगाडिनै जिम्मेवारी निभाई सक्नुभएकाे थियाे । पर्यटन तथा ट्राभल्स क्षेत्रमा व्यवसाय गरिरहेका ढुंगानाको यूएई तथा नेपालका धेरै क्षेत्रमा लगानी गर्नुभएकाे छ ।

उक्त घोषणा सभामा बोल्दै एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका ढुंगानालाई अग्रिम बधाई दिदै सफलताको शुमकामना ब्यक्त गर्नुभयाे । नेपाल पत्रकार महासंघ, यूएई च्याप्टरका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार लक्ष्मण खनालले संचालन गरेको उक्त घोषणा सभामा मध्यपुर्व उपसंयोजक राजु केसी, एनआरएनए आईसिसि सदस्य पुष्कर सापकोटा, सुजन सापकोटा, मणी भुर्तेल, एनसिसि युएईका अध्यक्ष विकास शाही, जनसम्पर्क समिति सभापती भुवानी प्रसाद तिमिल्सिना, जनप्रगतिशिल मञ्च अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्च अध्यक्ष टक बहादुर गुरुङ,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,पत्रकार उमाकान्त पाण्डे लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले सफलताको शुभकामना दिदै विश्वभर रहेका नेपालीलाई सहयोग गरेर विजयी गराउन अनुरोध गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय