बुटवलले आर्थिक केन्द्रको रुपमा फेरी अर्को फड्को मार्दैछ : मेयर पाण्डे

२०८० भाद्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, १८ भदौ । देशकै प्रमुख औद्योगीक तथा व्यापारिक केन्द्रको रुपमा रहेको बुटवल क्षेत्रले फेरि अर्को फड्को मार्ने पुष्ठभूमी तयार भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले दावी गर्नु भएको छ ।

उहाँका अनुसार देशकै ठूलो कृषि व्यवसायीक भवनदेखि औद्योगीक क्षेत्र, सडक, बजार, केबलकार लगायतका पुर्वाधारहरु धमाधम निर्माण भइरहेकाले बुटवलले फेरि अर्को फड्को मार्ने भएको हो ।

मेयर पाण्डेले आफू पनि क्षणिक र साना काममा भन्दापनि दीर्घकालीन र धेरै जनालाई फाईदा हुने काममा केन्द्रीत भएको जानकारी दिनुभयो । बुटवलदेखि मुक्तिनाथसम्मको बाटो चाँडो सम्पन्न गर्न संघीय सरकारलाई अनुरोध गर्दै उहाँले त्यस मार्गबाट भारतका भक्तजन मुक्तिनाथ र तिब्बतका तिर्थयात्री लुम्बिनी आउने क्रम अत्यधिक बढ्ने दावी पनि गर्नुभयो ।

दुई ओटा नयाँ नगर अस्पताल दशैपछि सञ्चालनमा आउने र आम्दा अस्पताललाई ३०० बेटमा विस्तार गर्न जापानसँग सम्झौता भइसकेकाले स्वास्थ्य सेवामा पनि बुटवल अब्बल बन्न लागेको उहाँको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको पालिका वहसमा मेयर पाण्डेले दैनिक ३०० टोल समिति मार्फत सरसफाईको काम भइरहेको र हरेक शनिबार टोलवासी नै सरसफाईमा उत्रिने भएकाले बुटवल सफा, सुग्घर र सुन्दर बन्दै गइरहेको बताउनु भयो ।

उहाँले ५०० छाडा चौपाया व्यवस्थापन गर्नेगरी गौशाला निर्माण भइसकेको र आफ्नो कार्यकाल भरीमा १० हजार परिवारलाई लालपुर्जा दिलाएर सुकुम्बासी समस्या समाधान हुने दावी गर्नुभयो ।

नगरको नौलो कार्यक्रमका रुपमा गृहीणी महिलाहरुलाई सिप सिकाउने र कोशेली घर स्थापना गरी उनीहरुका उत्पादन विक्रि गर्नेगरी “गृहीणी महिला स्वरोजगार” कार्यक्रम सञ्चालन गर्न लागिएको पनि मेयर पाण्डेले जानकारी दिनुभयो ।

उपमहानगरपालिका संघका संस्थापक संयोजक समेत रहनु भएका पाण्डेले स्थानीय सरकारका लागि संघीय सरकार नै बाधक भएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा गर्नुपर्ने कामका लागि संघीय सरकारमा डेलिगेसन जादाँ जादै हाम्रो धेरै समय वितेको छ, संघीय सरकारले काम नगरिदिँदा हामीले गाली खानु परेको छ ।’ मेयर पाण्डेले स्थानीय सरकारलाई दिनु पर्ने काम पनि संघीय सरकारले नै गर्न खोज्दा समस्या भइरहेको अनुभव सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय