वालिङमा ब्लड बैंक स्थापना

२०८० भाद्र १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१९ भदौ । स्याङ्जाको वालिङ स्थित् गह्रौं अस्पतालमा रक्त सञ्चार इकाई केन्द्र स्थापना गरिएको छ । ६२ औं नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वालिङमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो । जिल्लाको मध्यभागमा रहेको उक्त अस्पतालमा बिरामीको चाप सगै रगत अभावका कारण पोखरा जानुपर्ने अवस्था सिर्जना भएपछि रक्त सञ्चार इकाई स्थापना गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख खाँणले केन्द्रको स्थापना गर्न भन्दापनि यसको निरन्तरता कठिन हुने बताउनुभयो । यहाँका नागरिक रगतकै कारण थप उपचारका लागि पोखरा र पाल्पा जान बाध्य हुने अवस्थालाई मध्यनजर राखेर स्थापना गरिएको केन्द्रको निरन्तरताको लागि स्थानीय सरकारले आवश्यक सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नागरिकको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रलाई स्थानीय सरकारले सिमित साधनश्रोतको प्रयोग गरी उपचारमा कुनै कठिनाई हुन नदिने खाँणले जिकिर गर्नुभयो ।

स्याङ्जा सहित पर्वत, गुल्मी, पाल्पा लगायतका जिल्लाका केही पालिकाका नागरिकले समेत उपचार सेवा लिदै आएको अवस्थामा रक्त संकलन केन्द्रको स्थापनाले ठुलो राहत मिल्ने बताइएको छ । स्वास्थ्य, शिक्षा सहित न्यायमा पनि नागरिकलाई सरकारले निशुल्क गर्नुपर्ने धारणा पुर्व नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलिपप्रताप खाँणले राख्नुभएको थियो । रक्त सञ्चारको संचालनका लागि अस्पतालले दुईजना कर्मचारी र नगरपालिकाले एक जना कर्मचारीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालले शल्याक्रिया सेवा सुरु गरेका र वालिङमै डाइलाइसेस संचालन भइरहेकाले रगत आवश्यक पर्ने बिरामीका यो केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने खाँणले बताउनुभयो ।

ब्लड बैंक स्थापनकै दिन रक्तदान समेत गरिएको थियो । रेडक्रस सोसाईटी जिल्ला शाखाका उपमन्त्री खगेन्द्र अर्यालका अनुसार १६ जनाले रक्तदान गरेको बताउनुभयो । उद्घाटन कार्यक्रममा रेडक्रसका जिल्ला सभापति दिनेश अर्याल, उपसभापति लक्ष्मी थापा र सदस्य बिष्णु गैह्रे लगायतले रेडक्रस सधै विपद्को सारथी रहेको बताउनुभएको थियो । जहाँ दुख, त्यहाँ रेडक्रस भन्ने नारा सहित स्याङ्जा शाखाले हरेक नागरिकको समस्यामा साथी बनेर काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय