स्वस्थानी ब्रत कथामा उल्लेख गरिएको कालीगण्डकीमा अवस्थित ऐतिहासिक गुफा

२०८० कार्तिक १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रभा पाण्डेय

स्याङ्जा,१५ कार्तिक । संघीयताले जन्माएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका लाइ पछिल्लोसमय सडक संजालले जोड्न थालेपछि यस क्षेत्रमा लुकेर रहेका ऐतिहासिक ठाउँहरुको समेत चर्चा हुन थालेको छ । पालिका भित्रका प्राय ठाउँलाई सडक संजालले जोडेपछि यहाँ भएका ऐतिहासिक ठाउँको समेत चर्चा हुन थालेको हो ।

हिन्दु धर्मावलम्बीहरुले पुजा गर्ने श्री स्वस्थानी ब्रत कथामा उल्लेख गरिएको ऐतिहासिक ठाउँ स्याङ्जाको कालीगण्डकी रहेको पाइएको हो । स्थानीयहरुले श्री स्वस्थानी ब्रत कथामा उल्लेख भए अनुरुप त्यस क्षेत्रमा पुजाआजा गर्दै आएपनि यती ठूलो महत्त्व बोकेको उक्त गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

श्री स्वस्थानी ब्रत कथामा उल्लेख गरिएको “कालीगण्डकीको तटमा रहेको मधुबनको पुछारमा सिधुरे खाेलाकाे खोँचमा ध्रुव ऋषिले ५ बर्षको उमेरमा तपस्या गरेको गुफा ” भनेर उल्लेख गरिएको छ भने उक्त गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । श्री स्वस्थानी ब्रत कथामा उल्लेख भए अनुसार सानासाना पाइलाका डाम समेत त्यहाँ देख्न सकिन्छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ खोर्दी देखि सीधा पारी पर्ने उक्त गुफालाई सिद्ध ध्रुव गुफा भनेर चिनिने गरिन्छ । संस्कृति तथा धार्मिक रुपमा निकै महत्त्व बोकेको भएपनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै आएको हो ।

पाल्पा रानी महल देखि करिब ३ किलोमीटरको दुरीमा पर्ने उक्त सिद्ध गुफामा विभिन्न भगवानका आकृतीहरू देख्न सकिन्छ । यस गुफामा पुग्न हाल मोटर बाटोको सुविधा रहेको छ । पाल्पा रानीमहल देखि कालीगण्डकी हटिया जाने गण्डकी करिडोरकाे बाटो बाट करिब २० मिनेटको दुरीमा पहाडी सिदुरे खोलाको खोँचमा रहेको गुफा जाने बाटोमा सीदुरे खोलाले बनाएको झरनाले त झन आकर्षक थपेको छ । खोलाको किनारा देखि करिब पाँच मिटर माथि रहेको गुफामा जानको लागि सिँढीहरूको निर्माण गरिएको छ ।

उक्त गुफामा भगवान् ध्रुव पाँच वर्षको उमेरमा सिदूरे खोलाको किनारामा रहेको ढुङ्गाका खुट्कील्लाहरु टेक्दै माथि चढेर सानो गुफा भित्र तपस्या गरी मोक्ष पाएको भन्ने किम्बदन्ति रहेको छ। हाल गुफामा भगवान् शिवको मूर्ति समेत राखेर पुजाआजा गर्न थालिएको छ । उक्त गुफा भित्र भगवान ब्रहृमा, विष्णुको वस्त्र माथि गाईका थुनहरुले दूध चढाएको जस्तो हरेक समयमा पानी चुइने दृश्य हेर्दा मन आनन्दित भएको यसै गाउँ निबासी वृद्ध बुबा धुम बहादुर सोमैले बताउनु भयो । यस गुफामा शिवरात्रीको दिन विशेष पूजा लाग्ने गर्दछ।

कालीगण्डकी गाउँपालिकाको सहयोगमा अप्ठारो खोलामा हिड्न मिल्ने गरी बाटो निर्माण गरीएकाे छ भने आगामी दिनमा यसको विकासका निम्ति थप बजेट छुट्याइने कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार