गण्डकी–लुम्बिनी जोड्ने ‘सिग्नेचर ब्रिज’

२०८० पुष ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, ३ पुुस । गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का सम्झौता भएको छ । सम्झौता भएसँगै गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल (रामनदी धाम) राम्दीस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण थालिएको हो ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको छ । २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको पुल सेक्टर पोखराका इञ्जिनियर आशिष रिजालले जानकारी दिए ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर कालीगण्डकी नदीमा आकर्षक एवं कलात्मक पुल निर्माण गर्न लागिएको हो । “पुरानो पुल जीर्ण हुँदै जाँदा ठूला भारबहन क्षमताका सवारी साधन सञ्चालन हुन पाएका थिएनन्” रिजालले भने, “एकहप्ता अघिदेखि पुल निर्माण सुरु गरेका छौँ, स्याङ्जा तर्फको घर टहरा भत्काएर जग खन्ने काम अगाडि बढेको छ ।”

सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरी ठेक्का सम्झौता भई काम अगाडि बढेको हो । २०८२ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणको ठेक्का सम्झौता भएको छ ।

१ सय २० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको पुरानो पुल ९३ मिटर लामो छ । “पुल निर्माण सम्पन्न गर्नका लागि २७ करोड ७१ लाख लागत लाग्नेछ” रिजालले भने, “पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ ।” अब बन्ने नयाँ पुलमा ४० टनसम्मको भारबहन क्षमता रहने छ ।

भारत सरकारको सहयोगमा २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माण सुरु भई २०२८ मा सम्पन्न भएको थियो । देशकै पर्यटकीय सहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक सहर बुटबल तथा भारतसँगै जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । सडक निर्माण भएको लामो समय भइसक्दा पनि यसको स्तरोन्नति हुन सकेको थिएन् ।

उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । राम्दीघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थ स्थलसँगै भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउने योजना छ । ठूला भारबहन क्षमताका सवारी साधन राम्दीमा रहेको हालको पुलमा सञ्चालन हुन नसक्दा माल सामान ढुवानीमा कठिनाइ भएको थियो । यसले गर्दा आसपासका उपभोक्ता मर्कामा परेका थिए ।

नयाँ पुल निर्माण थालिएसँगै पुलको बाटो भई सामन ढुवानी गर्ने उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन थालेका छन् । पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले अहिले १० टन क्षमताभन्दा बढी भारबहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।

१० टन भन्दा माथिको ४० टनसम्मका भारबहन क्षमताका सवारीहरु बुटवलबाट चितवन हुँदै पोखराबाट स्याङ्जा आउनु पर्ने बाध्यता थियो । ठूला भारबहनका सवारी साधनहरु अब बुटवलबाट सिधै कम लागतमा स्याङ्जा आउने भएपछि स्थानीय व्यवसायी सहित उपभोक्ता समेत हौएिका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय