प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बिजयी सुरुवात

२०८० पुष ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बिजयी सुरुवात गरेको छ ।

गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै लुम्बिनी प्रदेशले बिजयी सुरुवात गरेको हो । जितको लागि १ सय ३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर लक्ष्मी चौधरीले ४४ बलमा सर्वाधिक ४२ रन बनाइन् । सृष्टी पौडेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो । गण्डकीको लागि सुमन खतिवडा ३३ रनमा नट आउट रहिन् । ओपनर अन्जली विश्वकर्मा ३० रनमा रिटायर्ड हर्ट भइन् ।

त्यस्तै बिहीबार नै कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । बागमतीले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य पछ्याएको मधेशले ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । मधेशकी पुजा महतोले ३५ रन र अनुराधा चौधरीले २१ रन बनाईन् । प्रतिमा साहले नटआउट १५ रन जोडिन् । बागमतीकी अश्मिना कर्मचार्यले २ तथा मनिषा उपाध्यायले १ विकेट हात पारिन् । सुरुवाती ब्याटिङ गरेको बागमतीलले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । यस्तै मुलपानीमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपीएफले १ विकेट गुमाएर पुरा गरेको हो । सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

त्यस्तै माथिल्लो मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि सामान्य ३४ रनको विजयी लक्ष्य पछ्याएको कोशीले ३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै ३३ रन बनाएको थियो । कर्णालीको लागि ओपनर किरण कुँवरले ९, बिना थापा र राक्षी खड्काले ८–८ रन बनाइन् ।

प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लब छन् । राउन्ड रोविनमा हुने प्रतियोगितामा शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय