नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदैछ ।
सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो । आयोजनाको वित्तीय प्रगति ६२.४९ प्रतिशत रहेको छ । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।
आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) र विष्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नु पर्छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । साथै काठमाडौं भित्रने र बाहिरिने सवारी साधनको इन्धन बचत हुनेछ ।