बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने ,घाइतेको उपचार खर्च सरकारले बेहोर्ने निर्णय

२०८० पुष १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १४ पुस। ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत दिने भएको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने उनको भनाई थियो ।

मन्त्री शर्माका अनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ ।

शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाहरुले पुनस् भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो । घटनापछि शुक्रबारै सरकारले सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा घटनाबारे गम्भीररुपमा छलफल भएको बताइन् । केही न केही कमजोरी भएर नै घटना भएको छ । त्यहीकारण हाललाई छानविन नटुंगिएसम्म गोली चलाउन आदेश दिने डिएसपी, मन्त्रीका पीएसओ र उपसचिव लगायतका कर्मचारीलाई निलम्बन गरिएको छ, मन्त्री शर्माले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय