बाँके २८ पुस । लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो ।


आर्थिक अभावकै कारण घाइतेको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसी अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री केसीले बस दुर्घटनाबाट आफू मर्माहत भएको भन्दै दुर्घटनामा ज्यान गुमाएकाका परिवारमा शोक व्यक्त गर्नुभयो ।
शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेमध्ये एक जना डिस्चार्ज हुनुभएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।