सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी

२०८० माघ ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

धनगढी ,११ माघ। राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उनीहरू प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन् । प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १७५ जना प्रमुख(उपप्रमुख मध्ये १७३ जनाले मतदान गरेका थिए ।

प्रदेशसभातर्फ महिलातर्फकि उम्मेदवार चन्दले ४१ मत पाइन भने स्थानीय तहतर्फ १२० मत पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी सावित्रादेवी घिमिरेले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ५२ मत प्राप्त गरेकी छन् ।

अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्टले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ १२१ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले प्रदेशसभाको ११ मत र स्थानीय तहतर्फ ५२ मत पाए ।

अन्यतर्फ विजयी भएका कांग्रेसका बोहराले प्रदेशसभातर्फ ३९ मत पाए भने स्थानीय तहतर्फ ११९ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरीप्रसाद खरेलले प्रदेशसभाको १३ मत र स्थानीय तहतर्फ ५३ मत पाए ।

प्रदेशसभाको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ कायम गरिएको छ । योअनुसार महिलातर्फ विजयी भएकी माओवादीकी चन्दले प्रदेशसभातर्फ २१७३ र स्थानीय तहतर्फ २२८० गरेर ४४५३ कुल मतभार पाएकी छन् । एमालेकी घिमिरेले प्रदेशभाको ५८३ र स्थानीय तहतर्फ ९८८ गरेर १५७१ मतभार प्राप्त गरिन् ।

अन्यतर्फका बोहराले प्रदेशसभातर्फ २०६७ र स्थानीय तहतर्फको २२६१ गरेर ४३२८ मतभार पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका खरेलले प्रदेशसभातर्फ ६८९ र स्थानीय तहतर्फ १००७ गरेर १६९६ मतभार पाए ।

आपांगतातर्फ कांग्रेसका भट्टले प्रदेशसभातर्फ २१२० र स्थानीय तहतर्फ २२९९ गरि ४४१९ मतभार ल्याउँदा एमालेका जोशीले प्रदेशसभातर्फ ५८३ र स्थानीय तहको ९८८ गरेर १५७१ मतभार प्राप्त गरे ।

सुदूरपश्चिम प्रदेशसभामा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट दुई मत क्रस भएर एमालेका उम्मेदवारलाई परेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार