नवलपरासी, १२ पुस । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्रामको शिलान्यास भएको छ ।
चालू आर्थिक बर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारी समेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्वपूर्ण परियोजनाका रुपमा अगाडि बढेको छ । सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएकाे थियाे । आफु निर्वाचित भएको एक बषमै उहाँले उक्त प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउनुभएकाे छ ।
नमुना औद्योगिक ग्राम नवलपरासी जिल्लाकै एकिकृत सुविधा उपलब्ध हुने नमूना औद्योगिक ग्रामका रुपमा स्थापना गर्न लागिएको छ । यस ग्राममा स्थानीय युवाका श्रृजनशिल उद्यमशिलता र स्थानीय कच्चा पदार्थमा आधारित सिपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ । बर्दघाट नगरपालिका वडा नं ५, खजुरा खोला क्षेत्रमा करिव १८ विगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुदैछ । यस परियोजनाका लागि १७ करोड रूपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुबर्षिय परियोजनाका रुपमा आगामी तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सांसद चौधरीको विशेष पहलमा चालु आर्थिक बर्षका लागि ४ करोड रूपैयाँ यस परियोजनाका लागि निकासा भई टेण्डर भईसकेको छ । रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभिले निर्माणको जिम्मा पाएको छ । यस बर्ष पूर्वाधारका कामहरू सम्पन्न गरिनेछन् । कार्य प्रगती राम्रो रहेमा यसै आर्थिक बर्षभित्र थप बजेट निकासा भई थप काम गर्न सक्ने अवस्था छ ।
यस परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरि चौधरी फाउण्डेसनका इन्जिनियरहरूले प्रत्यक्ष रुपमा सहयोग गर्नेछन् । तीन बर्षभित्र नमूना औद्योगिक ग्राम तयार गरि नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार उनको सचिवालयका अधिकारीहरूले पनि परियोजनाको निरन्तर अनुगमन गर्नेछन् ।
उक्त परियोजनाको एक समारोहवीच शुक्रवार शिलान्यास गरिएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गर्नुभएकाे हाे । उक्त अवसरमा बोल्दै मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमूना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफुले पहल गर्ने पनि मन्त्री रिजालले बताउनुभयाे ।
शिलान्यास कार्यक्रममा बोल्दै विशेष अतिथी सांसद चौधरीले आफुले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिवद्धताहरूलाई एक एक गरि पूरा गर्ने शिलशिलामा नमूना औद्योगिक ग्राम सोही प्रतिवद्धता कार्यान्वयनको अर्को महत्वपूर्ण चरण भएको बताउनुभयाे ‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहान्छु । तर, यहाँ त्यहि भईरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईँहरु पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए ।
एसएमई भिलेज उद्यमशिलताको नमूना बन्ने र नवलपरासीका युवाहरूलाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहनेछ भन्ने मेरो विश्वास छ, सांसद चौधरीले भन्नुभयाे । ‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोंच राख्ने युवाहरुका लागि एकिकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाहरूका नयाँ सोंच, नवप्रवर्तनका कार्यक्रमहरूलाई अर्को तहमा पु¥याउनेछ भन्ने मेरो विश्वास छ’, सांसद चौधरीले भन्नुभयाे, ‘हामीले युवाहरूका लागि युवा उद्यमशिलता तालिम अगाडि बढाईरहेका छौँ । र उहाँहरुका लागि विउ पँुजीको व्यवस्था गर्न पनि आवस्यक पहल लिनेछौँ ।’ यस परियोजनालाइ सम्पन्न गर्न आफु र आफ्नो टिमले निरन्तर सहयोग र अनुगमन गर्ने पनि उहाँले जानकारी दिनुभयाे। उद्योग ग्राम खोलेर मात्रै हुदैन जीवन्त बनाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । विशेष औद्योगिक क्षेत्र (सेज) र अन्य ग्रामजस्तो यस ग्रामलाई उद्योगविहिन हुने अवस्था आउन दिइनेछैन । सांसद चौधरीले जोड दिनुभयाे ।
प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिनुभयाे । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमूना औद्योगिक ग्राम बन्नु अत्यन्तै सुखद रहेको बताउनुभयाे ।