पूजा खड्का
स्याङ्जा, २५ वैशाख । ”भोकालाई एक छाक भोजन होइन, जीउने जुक्ति सिकाऔं” भन्ने अभियान सहित गल्याङ नगरपालिकामा आर्थिक समृद्धिमा सहजताको लागि र आत्मनिर्भर बनाउने उद्देश्य सहित गल्याङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत ५५ वटा बीउ बाख्रा वितरण गरिएको छ।
गल्याङ नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र नयाँ गोरेटो संस्थाको सहजीकरणमा स्थानिय समूहलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित विउ बाख्रा वितरण गरिएको हो। कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ राम्चेमा ३० वटा र वडा नं।६ पिडि खोलामा २५ वटा गरी ५५ वटा बीउ बाख्रा वितरण गरिएको उक्त कार्यक्रम मा गल्याङ नगरपालिका वडा नं ६ को नमुना र जनज्योती स्वाबलम्वन महिला समुह र वडा नं ७ को कानुन स्वाबलम्वन महिला समुहका सदस्यहरूलाई विउ बाख्रा वितरण गरिएको थियो।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। उहाले ग्रामीण क्षेत्रको आर्थिक समृद्धिको लागि पशुपालन प्रभावकारी हुने बताउनुभयो। उहाले निरन्तर मिहिनेत गरेमा बाख्रा पालन व्यवसायबाट आर्थिक उपार्जनको लागि मार्ग खुला हुने बताउदै आत्मनिर्भर हुनमा सहज हुने बताउनुभयो। उहाले बाकी लाई पनि केही गर्नुपर्छ भन्ने धारणा को विकास हुने बताउँदै उत्पादन प्रक्रियामा जोडिन र मिहिनेत गरेर नै जीवन सहज हुने बताउनुभयो । नगर प्रमुख भट्टराईले सबैलाई आर्थिक उपार्जनमा जोडिन मिहिनेत गर्नुपर्ने बताउँदै उत्पादनमा जोडिएर कार्य गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपानेले स्वरोजगारको लागि महिलाहरूलाई उत्प्रेरित गर्न यस्ता कार्यक्रमहरू आवश्यक भएको बताउनुभयो। उहाले महिलाहरूको सशक्तीकरणको लागि आर्थिक स्थिति मजबुद हुनुपर्ने बताउँदै आत्मनिर्भरतामा जोडिने बताउनुभयो।
बीउ बाख्रा वितरण कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिप गुरुङ,गल्याङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष झविलाल पाण्डे लगायत समुहमा आबद्ध उद्यमी महिलाहरु, प्राविधिक कर्मचारी, स्थानिय बुद्धिजीवी सर्वसाधारण को सहभागिता रहेको थियो। बाख्रा पालन मा सहभागीहरूलाई नियमित तालिम, निगरानी र प्राविधिक सहयोग समेत प्रदान गरिने र सहजता दिने जानकारी नगरपालिका ले गरेको छ।