पत्रकार अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट


पाल्पा, २३ माघ । पाल्पाका पत्रकार माधव अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ । प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार राप्ती उपत्यका दाङको देउखुरीमा एक कार्यक्रमका बीच अर्याललाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका अर्यालले लुम्बिनी प्रदेशको विकासमा पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको कदर स्वरुप प्रदेश सरकारले प्रदान गर्ने सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको प्रदेश सरकार गृहमन्त्रालयको सञ्चार शाखाका अधिकृत कालीदास बस्यालले बताउनुभयाे । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

दुई दशक भन्दा बढी समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आउनुभएका अर्यालले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएकाे छ ।

प्रदेश सरकारले अर्यालसहित १३ जना पत्रकारलाई समेत पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा अर्घाखाँचीका वीरेन्द्र केसी, रुपन्देहीका तेजेन्द्र केसी, बाँकेका अर्जुन ओली, लमहीका चुमा आचार्य, दाङका दशरथ घिमिरे, भैरहवाका रविन्द्रप्रसाद गुप्ता, रुकुमपूर्वका जयमान बुढा मगर, नेपालगञ्जका सिराजुद्दिन खान, प्युठानका मधुसुदन भण्डारी, बर्दियाका रामप्रसाद चौहान र कपिलवस्तुका भुसाल थापा रहनुभएकाे छ । अर्यालसहित उहाँहरुलाई ५० हजार नगदसहित पुरस्कृत गरिएको हो । अग्रज पत्रकार पुरस्कार भने दाङ लमहीका कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई १ लाख नगदसहित पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय