स्याङ्जाकाे रमणिय र शान्त स्थल नुवाकोट

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पूजा खड्का

स्याङ्जा,२३ माघ ।
स्याङ्जा जिल्लाकाे पुतली बजार पवैगौडे र फेदीखोला गाउँपालिकाको शिर र दुवैको सङ्गम स्थलको रूपमा रहेको नुवाकोट निकै रमणिय र शान्त स्थलको रुपमा रहेको छ ।

नेपाल एकिकरण अघि बाईसी चौबिसे राज्य अन्तर्गतको एक राज्य अन्तर्गत रहेको भिरकोट र कास्की कोटको बीचमा रहेको शक्तिशाली राज्यको रुपमा पनि याे ठाउँ परिचित छ । तत्कालीन समयमा राजाहरूले आफू बसेको राज्यमा आफ्नो सुरक्षाको लागि हतियार राख्नको लागि कालिका मंदिर स्थापना गरी पूजा आजा गर्ने प्रचलन व्यापक रुपमा सुन्नमा पाइन्छ । कालिका मन्दिर भैरवको मन्दिर बनाउने गुठी राख्ने चलन अधिकांश ठाउँमा आज भोलि पनि सुन्न पाइन्छ ।

तत्कालीन समयमा स्याङ्जा जिल्लाको सदरमुकाम रहेको अड्डा अदालत रहेको ठाउँ पनि नुवाकोट रहेको हुँदा अहिले पनि त्यहा अड्डा अदालत भएका ठाउँ हरुका दृश्यहरु देख्न सकिन्छ । नुवाकोटमा राजाहरू बसेको दरबार भए पनि हाल दरबार भने छैन दरबार रहेको स्थल भनेर अहिले पनि देख्न सकिन्छ ।

तत्कालीन समय बि स १५१० मा राजाहरूले शासन गरेको कुरा सुन्न पाइन्छ । जतिबेला नेपाल एकिकरण नभइसकेको र एकिकरण पश्चात नुवाकोट राज्य नरहेको र नेपाल राज्यमा गाभिन पुगेको कुरा इतिहासमा पढ्न सकिन्छ । नुवाकोटे राजाहरूले स्थापना गरेको मन्दिर पुरानो भएर जीर्ण हुन गई त्यसको एतिहासिक महत्व ठानी पुन निर्माण गरिने काला भैरव पुरातात्विक मन्दिरको व्यवस्थापन समितिका संस्थापक आजीवन प्रमुख संरक्षक एबम् मन्दिर पुन निर्माण समितिका अध्यक्ष नरकाजी गुरुङ्ग बाट मिति २०६६/१०/२९ गते महा शिवरात्रीको दिन शिल्यानास सुसम्पन्न भएको थियो ।

काला भैरव पुरातात्विक मन्दिरको सल्लाहकारको रुपमा पूर्व मन्त्री इन्द्र बहादुर गुरुङ्ग निर्माण कार्य समितिको अध्यक्ष टेक प्रसाद गुरुङ्ग हुनुहुन्थ्यो भने काला भैरव पुरातात्विक मन्दिर पुन निर्माण समितिको अध्यक्ष नरकाजी गुरुङ्ग रहनुभएको थियो । यस मन्दिर निर्माणमा संस्थापक संरक्षक आजीवन सदस्य विशिष्ठ आजीवन सदस्यहरुले ठूलो धनराशि दान गरी मन्दिर निर्माणमा सहयोग गर्नुभएको इतिहास छ । मिति २०६८/११/२६ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीबाट पुन निर्माण काला भैरव मन्दिरको समुदघाटन भएको थियो ।

हाल दरबार नरहे पनि दरबार रहेको स्थल भनिएको ठाउँ बाट पूर्व तर्फ निकै सुन्दर कालिका मन्दिर रहेको छ । त्यस्तैगरी दक्षिण दिशामा सुनकेशरी मन्दिर रहेको छ भने पश्चिम उत्तरमा निकै सुन्दर ठूलो त्रिशूल डमरु सहित काला भैरव पुरातात्विक मन्दिर पुनर्स्थापना गरिएको छ।

यसैको नजिक पूर्व दिशामा सदरमुकाम रहदा त्यहा पहिले भएको अड्डा अदालत रहेको ठाउँ देख्न सकिन्छ । यहां अड्डा अदालत केही नरहे पनि भत्केको जस्तो देखिने खुला चौर जस्तो केही थियो भन्ने जस्तो मात्र देखिन्छ । काला भैरव र कालिका मन्दिरको उत्तर बाट विभिन्न ठाउँहरू देख्न सकिने निकै रमाइलो लाग्छ । पोखराको माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खला देख्न सकिन्छ त्यस्तै गरी बुद्ध स्तूप र पुम्दिकोट सजिलो संग देख्न सकिने निकै मनमोहक ठाउँको रुपमा नुवाकोटलाई लिन सकिन्छ ।

त्यस्तै गरेर विभिन्न ठाउँ गाउँघर देख्न सकिने डाडा बाट अवलोकन गर्दा निकै रमाइलो लाग्ने हुँदा पर्यटकीय स्थलको रुपमा संरक्षण र सम्बर्द्धन गर्दा यसको आकर्षण बढ्न जान्छ । डाडामा रहेको हुँदा निकै शान्त र यस्तो ठाँउमा रहदा मन लाई पनि आनन्दित तुल्याउने हुँदा यस स्थल लाई पर्यटकीय गन्तव्यको रुपमा धार्मिक एतिहासिक स्थल मानेर संरक्षण गर्नु आवश्यक पनि छ ।

नुवाकोटमा विशेष गरेर हिन्दूहरूको महान पर्व बडा दशैंमा पूजा आजा गर्ने व्यक्तिको घुइँचो रहन्छ भने अघि पछि पनि मन आनन्दित बनाउन मान्छेहरू त्यहा पुग्ने र घुम्ने गरेको पाइन्छ । नुवाकोट ठाउँ दृश्यात्मक रुपमा जति सुन्दर शान्त स्वच्छ छ त्यस्तै संरक्षणको लागि सहजताको लागि धेरै कुराको आवश्यक पनि रहेको छ । नुवाकोटमा पुग्नको लागि धेरै बाटो भए पनि गाडीको बाटोको रुपमा फेदीखोला कुपिण्डे बाट त्यस्तै गरी पोबै गौंडे बाट र बाडखोला बाट पनि जान सकिन्छ । बाटो धेरै जसो कच्ची रहेको हुँदा हिँड्न त्यति सहज छैन ।

यसको सहजताको लागि केबुलकारको व्यवस्था गर्यो भने केवल कार चढ्नको लागि स्याङ्जा बासीलाई अन्यत्र जान नपर्ने र नुवाकोट ठाउँमा पुग्न सहज पनि हुन्छ । यसले यात्रामा सहजता थप्छ भने पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन पनि सहज हुन्छ ।

डाडामा रहेको हुँदा घाम लागिरहने हुँदा जुनसुकै उमेर समूहको लागि त्यहा मौसम सम्बन्धी समस्या हुँदैन भने जाडो याममा चिसो केही मात्रामा रहन्छ नै । केही भाग सिँढी चढ्नुपर्ने छ सिँढी चढदा निकै आनंद लाग्छ । यहाँबाट अड्डा अदालत रहेको ठाउँ पोखरा आस पासको गाउँ स्याङ्जाका गाउँ घर टाढा टाढा सम्मका दृश्य हरु देख्न पाउँदा मन मा एक किसिमको फरक तरङ्ग आउने गर्दछ ।

धार्मिक हिसाबमा मन्दिर रहेको तत्कालीन समयमा राजा बसेको दरबार रहेहाको स्थल समुन्द्री सतह देखि लगभग १९०० मीटरको उचाईमा रहेको छ । दृश्यात्मक रुपमा धेरै ठाउँ देख्न सकिने ठूलो टावर रहेको निकै रमणिय मनमोहक र आनन्दको महसूस गर्न सकिने एक एतिहासिक स्थलको रुपमा याे ठाँउ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार