पत्नीसहित ३ जनाको हत्यापछि आत्महत्याको कारण ‘विवाहेत्तर सम्बन्ध’

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, ९ फागुन । सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गर्नुको मुख्य कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

काजीले पत्नी ईश्वरी श्रेष्ठ ‘विवाहेत्तर सम्बन्ध’मा रहेको कुरा हत्यापछि रेकर्ड गराएको भिडियो बयानमा जिकिर गरेका छन् । १५ वर्षका छोरा अनिशलाई मोबाइलमा भिडियो खिच्न लगाएर उनले भनेका छन्, ‘तिमीहरुले चितवनको केटालाई छाड्ने हैन ।’

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएर सितापाइला बस्ने ३८ वर्षीय ईश्वरी श्रेष्ठले २०८० माघमा एकजना पुरुषको विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त स्वयम्भुले त्यसबारे अनुसन्धान गरेर रमेश श्रेष्ठलाई पक्राउ गरेको थियो । सितापाइलामा बस्ने श्रेष्ठ सो मुद्दामा ५ लाख धरौटी बुझाएर फागुन २ मा रिहा भएका छन् ।

रमेश श्रेष्ठसँगको सम्बन्धबारे मुद्दा परेपछि काजी र ईश्वरीबिच त्यसबारे कुरा हुन छाडेको थियो । तर, मंगलबार राति ‘चितवनको केटा’को विषमा उनीहरुको बिचमा विवाद भएको थियो । छोरा अनिशले बुबा र आमाको बिचमा ‘विवाद’ भएको अनुसन्धान अधिकृतहरुलाई बताएका छन् ।

त्यसपछि बिहान ७ बजेर ४० मिनेटमा काजीले छोरालाई दुनोट किन्न पठाएर ३८ वर्षीय पत्नी ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र दुई वर्षीय नातिनी शिवनाको हत्या गरेका हुन् । उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा बस्दै आएका थिए ।

ईश्वरी श्रेष्ठकी बुहारी जेनी पनि सँगै बस्थिन् । काजी विकसँग ईश्वरीले दोस्रो विवाह गरेकी हुन् । पहिलो श्रीमानतिरका छोरा अनिलकी पत्नी हुन् जेनी । जेनी बिहान ७ बजे बल्खुमा काममा निस्केकी थिइन् । जेनी निस्केपछि काजीले हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । काजीले हत्या गरेका २ वर्षीय शिवनाचाहिँ जेनीकी छोरी हुन् ।

हत्याको कारण ‘विवाहेत्तर सम्बन्ध रहेको बताउँछन् जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारी । उनी भन्छन्, ‘अहिलेसम्मको अनुसन्धानबाट हत्याको कारण विवाहेत्तर सम्बन्ध नै देखिन्छ ।’

काजीले पत्नीको टाउकोमा ह्याम्मरले हिर्काएर छातीमा कैँचीले घोपेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । छोरीलाई घाँटीमा डोरीले कसेर र नातिनीलाई कैँचीले घोपेर हत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ८ वर्षीय अनिशाको घाँटीमा डोरीले बाँधेको र छातीमा कैँचीले घोपेको चोट देखिएको छ ।

विवाहेत्तर सम्बन्धबारे काजीले भिडियो बयानमा भनेका छन्, ‘भाग्य अनुसार मैले गरेको । मैले भनेको सबै भइसक्यो । चितवनको केटालाई छाड्ने हैन । (साउदीमा रहेको छोरालाई संकेत गर्दै) घटना तैंले किन गुपचुप राखिस ? राम्रो गर्न खोजेँ, तर कहिल्यै राम्रो भएन । तिमीहरु गरेर खाऊ । ममीजस्तो भएर नहिँड । माफ गर्दे, हिजो सोचेको गरेँ । अनिशलाई सबै जिम्मा दिएको छु, साँचो लिनु, अनिशलाई हेला नगर्नु । बैंकमा भएको डिपोजिट निकालेर अनिशको भविष्य बनाइदिनु, अनिशले दुःख पायो भने तिमीहरुलाई पनि राम्रो गर्दैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय