अत्तरियामा रहेको सुप समावेशी विद्यालयमा अपांग बालबालिकाहरुका लागि ह्विलचियर वितरण

२०८० फाल्गुन २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कैलाली,२५ फागुन । कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा अपांग बालबालिकाहरुका लागि ह्विलचियर वितरण गरिएको छ । लुपिक (लिडिङ युनिभर्सिटि प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन) नामक संस्थाले विद्यालयमा रहेका शारिरीक रुपमा अपांगता भएका बालबालिकाहरुका लागि विद्यालयलाई ह्विल चियर वितरण गरेको हो । संस्थाले सहयोग गरेका २१ वटा ह्विलचियर बिहिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिष्ना देवी बोहराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहनुभएकाे थियाे । कार्यक्रममा नगरपालिकाकै प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, लुपिककी प्रोजेक्ट मेनेजर किम इयुन योङ्ग, सुदूरपश्चिम विश्वविद्यालयका डिन डा. भवान सिँह चलाउने, सहायक डिन मदन सिँह देउवा, उपप्राध्यापक डा. यज्ञराज पाण्डेय, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. डम्बर पाल, युएनडिपि सुदूरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरी सिँह, वडा नं. २ का वडासदस्य डबल साउँद लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले प्रदेशकै एकमात्र अपांगता भएका बालबालिका अध्ययनरत विद्यालय सुप समावेशी विद्यालय हालसम्म सञ्चालन हुदैगर्दाका अफ्याराहरुका विषयमा आफु जानकार रहेको बताउनुभयाे । उहाँले गत वर्ष आफुले पालिकामार्फत ह्विलचियर खरिद गरेर वितरण गर्ने निर्णय गरेको भएपनि नेपालमा नपाईदा किन्न नसकिएको बताउनुभयाे । उहाँले स्थानिय तहमा थुप्रै चुनौतीहरु रहेकाले त्यस्ता चुनौतीहरुसँग लड्नका लागि विभिन्न संघसंस्थाहरुको आवश्यकता रहेको बताउनुभयाे ।

उहाँले अझै पनि नगरमा अपांगता भएका व्यक्तिहरुको संख्या बढी रहेकाले नगरले त्यस्ता व्यक्तिहरुको सहजता हुने किसीमका कार्यहरुका लागि काम थालिरहेको बताउनुभयाे । उहाँले त्यस्कै लागि धुलिखेलमा रहेको अपांग अस्पतालको शाखा अत्तरियामा ल्याउने गरी आफुले काम प्रयास थालिरहेको बताउनुभयाे । उहाँले उक्त अस्पताल ल्याउन सके सुदूरपश्चिममा रहेका अपांगता भएका विद्यार्थीहरुका साथै अन्य नागरिकहरुलाई पनि सेवा लिन सहज हुने अपेक्षा रहेको बताउनुभयाे। उहाँले सुप समावेशीमा आवश्यक रहेका सामग्रीहरु सहयोग गरेकामा संस्थालाई धन्यवाद पनि ज्ञापन गर्नुभयाे ।

कार्यक्रममा बोल्दै लुपिककी प्रोजेक्ट म्यानेजर किम इयुन योङ्ग ले सुदूरपश्चिमको अपांगता भएका बालबालिकाहरुका लागि सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयाे । उहाँले सुप समावेशी स्कुलले यहाँका अपांगता भएका बालबालिकाहरुको आवश्यकता र शिक्षाका सवालमा काम गरिरहेको विषयमा पहिले देखी नै जानकार रहेको बताउनुभयाे । उहाँले उक्त स्कुललाई आफ्नो संस्थामार्फत पनि केही न केही सहयोग गर्नुपर्छ भनेर सानो सहयोग गरेको बताउनुभयाे।

उहाँले आफुले दिएको सहयोग एकदमै सानो भएपनि विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुका लागि केही राहत दिन सक्ने अपेक्षा रहेको बताउनुभयाे । उहाँले आगामी दिनहरुमा पनि यस्ता सहयोग गर्दै जाने बताउनुभयाे ।

विद्यालयमा हाल अपांगता भएका व्यक्तिहरुलाई आवास सहितको शिक्षाको सुविधा विद्यालयले प्रदान गर्दै आईरहेको छ । लुपिकले विद्यालयमा २१ वटा ह्विलचियरका साथै बालबालिकाहरुको मनोरञ्जनका लागि एउटा टिभी पनि उपलब्ध गराएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय