मास्टरले चलाउँछन् भन्ने डरले विद्यालयमा इन्टरनेट जोड्दैनन्

२०८० चैत्र ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

सामान्यतयः सूचना तथा सञ्चार प्रविधि भन्नाले सूचनाको सङ्कलन, सम्प्रेषण एवम् सञ्चार गर्ने पत्रपत्रिका, कम्प्युटर, हार्डवेयर, इन्टरनेट आदिको समष्टिगत रुप भन्ने बुझिन्छ । सूचनाभित्र खबर, विचारहरु, संवेगहरु, अनुभव, दृष्टिकोण, तर्क, तथ्य, वर्णन आदि पर्दछन् । सूचना आदानप्रदान गर्ने कार्य नै सञ्चार हो । प्रविधि भनेको सूचनाको सञ्चार गर्ने आधुनिक माध्यम हो । कम्प्युटर, इमेल, इन्टरनेट आदिको उपयोग गरी शिक्षा प्रदान गर्ने कार्य यसभित्र पर्दछ । आजको दुनिया डिजिटल दुनिया हो । विश्व नै सूचनाका प्रविधिहरुले एउटा ‘स्मार्ट भिलेज’ बनिरहेको वर्तमान अवस्थामा नेपालको विद्यालय शिक्षामा पनि यसको प्रयोग अति आवश्यक देखिएको छ ।

नेपालमा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगतर्फ केही सकारात्मक प्रयासहरु भएका छन् तापनि सन्तोष गर्ने अवस्था छैन । सहर र गाउँको ’डिजिटल ग्याब‘ का कारण पनि गाउँघरका विद्यालयहरुमा प्रविधको प्रयोग राम्ररी हुन सकेको छैन । आज पनि सहरबजारका केही सुविधासम्पन्न नाम चलेका विद्यालयहरुमा बाहेक सूचना तथा सञ्चार प्रविधिको प्रयोग कमजोर अवस्थामै छ । संसारले सूचना प्रविधिमा हासिल गरेका नवीनत उपलब्धिहरुलाई शिक्षामा प्रयोग गरेर ठूलो सफलता हासिल गरिसक्दा पनि हाम्रो अवस्था ‘आकासको फल आँखा तरी मर’ भनेजस्तै छ ।

आफू विद्यालय शिक्षासँग सम्बन्धित एउटा पात्र भएकाले मैले यससम्बन्धमा केही अनुभवहरु बटुल्ने अवसर पनि पाएको छु जसलाई म यो आलेखमा संक्षिप्तमा उल्लेख गर्ने प्रयास गरेको छु । नेपालका अधिकांश विद्यालयमा आज पनि कम्प्युटर तथा इन्टरनेटको प्रयोग चिन्ताजनक अवस्थामै छ । खासगरी दूरदराजका ग्रामीण सार्वजनिक विद्यालयहरुले कम्प्युटर तथा इन्टरनेटको पहुँच पु¥याउन सकेका छैनन् । विद्यालयहरुमा विभिन्न स्रोतबाट कम्प्युटरहरु किनिन्छन् । ती किनिएका कम्प्युटर एउटा कोठामा सजाएर राखिन्छ । केही दिन तामझामजस्तो हुन्छ । केही दिनपछि कुनै कम्प्युटरका ‘माउस’ हुँदैनन्, कुनैका ‘किबोर्ड’ हुँदैनन्, कुनै बिग्रेका हुन्छन् ।

कुनै तार मुसाले खाएका अवस्थामा भेटिन्छन् । तिनै बिग्रेका कम्प्युटर देखाएर कति विद्यालयले त अभिभावकहरुसँग छुट्टै ‘कम्प्युटर फि’ भनेर पैसा समेत मासिक रुपमा लिने गरेका छन् । पैसा तिर्ने विद्यार्थीले पनि वास्तवमा ती कम्प्युटरहरु चलाएर होइन, हेरेरै चित्त बुझाएका हुन्छन् । केही गरी अभिभावक वा समुदायको दबाब प¥यो भने मुस्किलले मात्र ती सामग्री मर्मत गरिन्छ । इन्टरनेट त धेरै टाढाको विषय भयो । धेरै विद्यालयमा आज पनि इन्टरनेट छैन । इन्टरनेट जोडेकाहरुमा पनि सेवाको निरन्तरता छैन । कतिपय विद्यालयमा ‘राउटर’ बिग्रिएपछि मर्मतै नभइ थन्किएका हुन्छन् भने कतिले ‘वाइफाइ’ को मासिक महसुल नतिरेको अवस्था हुन्छ । कतिपय विद्यालयमा शिक्षकले ‘फेसबुक’, ‘म्यासेन्जर’ चलाउँछन् भनेर जोडिएको इन्टरनेट पनि काटिएको देखिएको छ ।

विद्यालयमा कम्प्युटर बिग्रिहाल्दा बनाउने जनशक्तिको अभाव छ । सामान्य कुरा बिग्रदाँ पनि कतिपय दुर्गम ठाउँमा मर्मत गर्न नसकेर कप्प्युटर त्यत्तिकै थन्किइरहेका हुन्छन् । अर्काे कुरा भौतिक पूर्वाधारहरु प्रविधि अनुकूल नभएको अवस्था छ । कम्प्युटर र इन्टरनेटका सम्बन्धमा जानकार रहेका शिक्षकहरु विद्यालयमा कमै मात्र हुने गर्छन् । शिक्षक सेवा आयोगबाट आएका केही पछिल्ला युवाहरु बाहेक अधिकांश पुराना ढर्राका शिक्षकहरु विद्यालय शिक्षामा आज पनि क्रियाशील छन् । उनीहरुलाई कम्प्युटर वा आधुनिक सूचना प्रविधिको ज्ञान छैन । फेरि उनीहरु यससम्बन्धी ज्ञान लिन पनि चाहन्नन् । उनीहरु ‘प्रोफेसर शर्माको डायरी’ जस्तै पुरानो ‘घोकाउने र रटाउने’ पद्धतिमै रमाउन चाहन्छन् ।

कतिपय पाका शिक्षकहरुलाई कम्प्युटर सिक्नोस् भन्ने हो भने, ‘अब हामी बुढालाई यस्तो घाँडो के चाहियो, अब केही वर्षमा निक्लिने हो’ भन्ने जस्ता प्रतिक्रिया दिइरहेको पाइन्छ । समय अनुसार शिक्षा दिने पद्धतिमा आएको बदलाब वा समयको पदचापलाई उनीहरुले बेवास्ता गरिदिन्छन् । विद्यालयमा कम्प्युटर पढाउने शिक्षकले पनि कम्प्युटरको कोरा सिद्धान्त नै पढाउँदा बढी रमाउने गरेको पाइन्छ । फेरि धेरै विद्यालयमा आज पनि खास ‘आइटी’ कम्प्युटरका जनशक्ति छैनन् । कामचलाउ कम्प्युटर शिक्षकको प्रयोग गरिएको अवस्था छ । विद्यालयले पनि सबै शिक्षकहरुलाई कम्तीमा कम्प्युटर र इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान दिने वातावरण मिलाउन सकेका हुँदैनन् । शिक्षा समन्वय तथा स्थानीय निकायहरु पनि यस्ता कुरामा खासै चासो दिँदैनन् ।

कतिपय विद्यालयमा कम्प्युटर प्रशस्त छन्, प्रत्येक शिक्षकलाई ल्यापटप पनि दिइएको छ । विद्यालयमा उच्च गतिको इन्टरनेट पनि जोडिएको छ । तर ती प्रविधिको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा एकप्रकारको अलमल भएको पाइन्छ । विद्यार्थीलाई के कुरा कसरी, कतिबेला, कुन प्रविधिको माध्यमबाट सिकाउने भन्ने सम्बन्धमा ज्ञानको कमी भएकाले ती स्रोत साधनको समुचित प्रयोग भएको पाइँदैन । साधन नै नहुने एउटा समस्या छ भने भएका साधनको उचित प्रयोग गर्ने चुस्त व्यवस्थापनको कमी अर्काे समस्या छ ।

आजका बच्चाहरु प्रविधिमा धेरै अगाडि भइसके । बाबुआमाले नजानेका थुप्रै कुराहरु ५ वर्षको बच्चाले जानिसकेको हुन्छ । प्रत्येक बच्चाका घरमा स्मार्टफोन, आईप्याड, आईफोन, ल्यापटप आदि कुनै न कुनै सामग्री भएकै हुन्छ । बच्चाहरुको रुचि आजभोलि स्मार्ट प्रविधिमा बढी छ । अब ज्ञान वा सूचना प्राप्तिका लागि कोही विद्यार्थी विद्यालय आउँदैन । बच्चाहरु प्रविधमैत्री भइसक्दा शिक्षक उही पुरानो बीस वर्ष अगाडि पढेको ज्ञानका आधारमा पुरेत बाजेले पाठ पढेजस्तो पढेर आजका बच्चाहरुको मनोविज्ञानलाई पक्डन सकिन्न । उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर ठेलेर बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन ।

स्वभाविक छ, समय अनुसार आजका बच्चाले प्रविधिको माध्यमबाट सिक्न चाहन्छ । फेरि, प्रविधिको प्रयोग मार्फत् सिकाएको सिकाइ असाध्यै प्रभावकारी र दिगो पनि हुन्छ । शिक्षकलाई पनि कक्षामा कराइरहनु पर्दैन । शिक्षकका लागि पनि प्रविधिको प्रयोग सजिलो र सहज छ । तर यति हुँदा पनि हामी परम्परागत ‘सुगा रटाइ’ को सीमित सिकाइ पद्धति बाहिर आउने प्रयास गरिरहेका हुन्नौँ । हामीले महिनौ सिकाउने विषयवस्तु प्रविधिको माध्यमबाट एक÷दुई दिनमै सिकाउन सकिन्छ । शिक्षकले पढाउँदा विद्यार्थीले हल्ला गर्छ भन्ने शिक्षकहरुकै गुनासो हुन्छ तर प्रविधिको प्रयोगमार्फत् सिकाउँदा विद्यार्थी हल्ला पनि गर्दैनन् ।

आज इन्टरनेटबाट संसारका सबै विषयको ज्ञान वा सीप प्राप्त गर्न सकिने अवस्था छ । ‘गुगल सर्च’ बाट पनि विद्यार्थीले आफूलाई समस्या परेका विषयहरु प्राप्त गर्न सक्छन् । ‘युट्युब’ मा पनि सिकाइसँग सम्बन्धित थुप्रै सामग्री उपलब्ध छन् । ‘इलर्निङ’ सँग सम्बन्धित थुप्रै ‘एप्प्स’ हरुको विकास भइसकेको छ । शिक्षण सिकाइसँग सम्बन्धित ‘सफ्टवेयर’ हरु पनि प्रशस्त पाइने अवस्था छ । वास्तवमै अलिकति इच्छाशक्ति हुने हो भने विद्यालयमा प्रविधिको प्रयोग गर्न अब कठिन विषय पनि छैन । एक÷दुई वटा ‘प्रोजेक्टर’ जडान गरेर हल निर्माण गर्न ठूलो लगानी पनि चाहिन्न ।
विद्यार्थीले फिल्म हलमा बसेर पिल्म हेरेझैं अनुभूति हुने गरी ‘प्रोजेक्टर’ मार्फत् विद्यालयमै सिकाउन सकिन्छ । यसले विद्यालयको ‘ड्रप आउट’ लाई पनि रोक्न मद्धत गर्छ । ससाना नर्सरी तथा पूर्व प्राथमिक तहमा पढ्ने विद्यार्थीलाई प्रोजेक्टर, टेलिभिजन वा अन्य माध्यमबाट सिकाइसँग सम्बन्धित भिडियोहरु तथा अडियोहरु सिकाउन सकिन्छ । यसबाट उनीहरुलाई विद्यालय आऊँआऊँ लाग्छ । विद्यालयमा रमाइलो महसुस गर्न थाल्छन् । पढाइमा पनि रुचि बढ्दै जान्छ । फेरि यसबाट सिकेको कुरा तिनीहरुले लामो समयसम्म सम्झन पनि सक्छन् ।

विद्यालयमा प्रविधि प्रयोगको अर्काे पक्ष पनि छ, त्यो विद्यालयका प्रशासनिक तथा दैनिक क्रियाकलापहरुमा कम्प्युटर तथा इन्टरनेटको प्रयोगको पक्ष हो । आज पनि थुप्रै विद्यालयमा विद्यार्थीले शुल्क बुझाउन जाँदा उही पुरानो तरिकाको ‘रसिद’ काटेर दिने प्रचलन छ । विद्यार्थीलाई ‘मार्कसिट’ वा ‘चारित्रिक प्रमाणपत्र’ वा अन्य कागजात बनाउँदा पनि कम्प्युटर तथा इन्टरनेटको प्रयोग भएको पाइँदैन । शिक्षा मन्त्रालयले तयार गरेका कतिपय सप्mटवेयरहरु पनि विद्यालयमा चलाउन नसकेको अवस्था छ । विद्यार्थी मूल्याङ्कनको क्षेत्रमा त झन् प्रविधिको प्रयोग धेरै प्रभावकारी हुन्छ । तर यसतर्फ सम्बन्धित सरोकारवालाहरुको खासै ध्यान पुग्न सकेको छैन ।

सार्वजनिक विद्यालयका व्यवस्थापन समितिहरु खालि नयाँ भवन बनाउने ध्याउन्नमा नै लाग्ने गरेका देखिन्छन् र प्रअको रुचि पनि त्यतैतिर बढी देखिने गरेको छ । ससाना कुरामा परिवर्तन गर्दा विद्यालय शिक्षाको गुणस्तरमा ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्नेतर्फ तिनको ध्यान जान सकेको छैन । ठूला र सुविधासम्पन्न भवन भए पनि शिक्षण सिकाइको तरिका उही पुरानो भयो भने ती भवनको के अर्थ रहन्छ होला र ? खासमा आजका विद्यालयहरुको समस्या भौतिक भन्दा पनि कक्षाकोठाभित्रको सिकाइको समस्या हो, पाठ्यक्रम र पाठ्युपुस्तकको समस्या हो । सबै कुरा भएर पनि सिकाइ पद्धतिमा नवीनता आएन भने आजका विद्यार्थीका आवश्यकता पूरा गर्न सकिँदैन भन्ने तथ्यलाई सबैले मनन गर्नु जरुरी भइसकेको छ ।

युवराज पौडेल
आँधीखोला ५, स्याङ्जा
(लेखक स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणमा संलग्न हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय