विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

२०८० चैत्र ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ८ चैत । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ ।

बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न आफ्नो टोली उत्साहित रहेको बताउनुभयो । उहाँले नेपालभन्दा बहराइन शारीरिक र मानसिकरुपमा बलियो टिम भएको टिप्पणी गर्नुभयो । प्रशिक्षक एनेसले नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उल्लेख गर्नुभयो ।

नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले मलेसियाको टोलीसँग अभ्यास खेल खेलेको थियो । नेपाली टोली मलेसियाबाट सिधै बहराइन गएका हुन् ।

नेपालले पहिलो चरणको खेलमा लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । समूह ‘एच’ मा  रहेको नेपालले यसअघि दुई खेल खेलिसकेको छ । नेपालले संयुक्त अरब इमिरेट् विरुद्धको अवे खेलमा ४–० गोलअन्तरले पराजित भएको थियो भने घरेलु मैदानमा भएको यमनविरुद्धको खेलमा २–० ले पराजित भएको थियो । नेपाल अङ्कविहीन छ ।

समूह एचमा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स ९युएई० छन् । नेपाली फुटबल टोलीमा गोलकिपर किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार छन् । त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिश श्रेष्ठ, सौभाग्य राई ९सन्जित० र सुमित श्रेष्ठ छन् ।

मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दीनेश हेन्जन, समीर तामाङ, सञ्जिव विष्टहिसुब थपलिया र जिलेस्पी जङ्ग कार्की छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार