स्याङ्जा २३ चैत । नेकपा एमाले स्याङ्जाको आजबाट हुने ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । दुई दिनेसम्म सञ्चालन हुने अधिवेशनको उद्दघाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने हुनुभएको छ ।
नेकपा एमाले अधिवेशन प्रचारप्रसार समितिले अधिवेशन उद्दघाटनको अघिल्लो दिन (बिहीवार) पुतलीबजार नगरपालिका १ अभियानपथस्थित आफनै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलत तथा अन्र्तक्रिया कार्यक्रमगरि सो बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज टुकराज सिग्देलले स्याङ्जामा गुटगत प्रतिस्पर्धा नहुने बताउनुभयो । आवधिक निर्वाचनले पार्टी मजबूद र लोकतन्त्रलाई समेत बलियो बनाउने उहाँको भनाई छ ।
फरक प्रसँगमा उहाँले राष्ट्रिय राजनीति उप्काउदै भन्नुभयो, ‘वर्तमान विसंगती, भ्रष्टाचार र विकृतीलाई सुधार गर्नका लागि नेकपा एमालेले सामान्य मन्त्रालय लिएर फेरि गठबन्धन गरेको छ ।’ सबै पार्टी उस्तै उस्तै हुन भन्ने कुरालाई चिर्दै नेकपा एमाले पृथक पार्टी रहेको दावी गर्दै एमालेको कार्यशैलीलाई मूल्यांकन र अवलोकन गर्न आग्रह गनुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस)ले अधिवेशनले ५ पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने जानकारी दिनुभयो । क्लष्टर अनुसारको निर्वाचन हुने र युवा १५ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
दुई दिने अधिबेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६०९ जना प्रतिनिधी चयन भएका छन् । तीन प्रतिनिधीमा एक महिला र ११ प्रतिशत उत्पिडीत प्रतिनिधी छनौट गरिएको प्रचार प्रसार समितिका संयोजक विश्व पौडेलले जानकारी दिनुभयो ।