‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ नामक पु्स्तकको लोकार्पण

२०८० चैत्र २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हिमाल जि.सी.

काठमाडौँ, २४ चैत । श्रद्धेय गुणदेव भट्टराईको शतवार्षिकी अवसर पारेर उनको संस्मरणमा आज २०८० चैत २४ गतेका दिन ’श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ नामक पु्स्तकको लोकार्पण भएको छ ।

श्रद्धेय गुणदेव भट्टराई स्मृतिपुष्प प्रकाशन समितिद्वारा कोपुण्डोलस्थित कोपुण्डोल बैंक्वैटमा आयोजित समारोहको गुणदेव भट्टराईका जेष्ठ सुपुत्र उदयदेव भट्टराईले सभापतित्व गरेका थिए भने डा.तीर्थबहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहेका थिए । समारोहमा प्रा.डा.राजेश गौतम प्रमुख वक्ताका रूपमा रहेका थिए । प्रमुख अतिथि डा.तीर्थबहादुर श्रेष्ठले पुस्तकको लोकार्पण गरेका थिए ।

लोकार्पण मन्तव्यका क्रममा डा. श्रेष्ठले आफ्ना गुरु गुणदेव भट्टराईप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै गुरु चेलाको बीच रहेको सम्बन्धका बारेमा प्रकाश पार्नुका साथै स्कूल छाडेको ७० वर्षपछि श्रद्धेय गुरुको संस्मरण गर्दै आफ्ना मन्तव्य राख्न पाएको खुसी व्यक्त गरेका थिए । साथै, उनले गुरु भट्टराईको पढाउने तरिका बेग्लै भएको बताउँदै गुरुले इतिहास र गणितका पाठ्य पुस्तकहरू धेरै लेख्नु भएको बताए । गुरु ज्यादै विद्वान् हुनुका साथै व्यवहारिक, मिलनसार र सहयोगी थिए भन्दै नाम अनुसार उनमा बहुगुण रहेको बताए ।

समारोहमा प्रा.डा.राजेश गौतमले गुणदेव भट्टराईको बहु आयामिक व्यक्तित्वमा माथि प्रकाश पार्दै गुरुले ट्रिगोनोमेट्री एउटा विषय बाहेक प्रायः अरू सबै विषय पढाउन सक्ने गुणका व्यक्तित्व रहेको बताए । साथै उनले इतिहास र पाठ्यक्रमका धेरै वटा पुस्तक लेखेको बताउँदै गुणदेव गुरु स्वाभिमानी रहेको बताए ।

समारोहमा गुणदेव भट्टराईका माहिलो छोरा सुरेशदेव भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने श्रद्धेय गुणदेव–स्मृतिपुष्पका सम्पादक समेत रहेका गुरुका अर्का छोरा जयदेव भट्टराईले वि.सं. १९८० मा जन्म भएका आफ्ना पिताको शतवार्षिकीका अवसरमा उनको संस्मरणमा पुस्तक निकाल्न पाउँदा ज्यादै हर्ष लागेको बताउँदै घर परिवारमा सबैका ’कान्छा बा’का रूपमा परिचित आफ्ना पिताको जीवनकालमै पुस्तक निकाल्ने चाहना भए पनि शुरूमा पिताजी नै अनिच्छुक भएको कारण रोकिएको र पछि पिताजीले भनेपछि पुस्तकका लागि लेख सामग्री सङ्कलन गरेको बताए ।

उनले पिताको ८४ वर्षको उमेरबाट लेख्न शुरू गरेको पुस्तक पिताजीको १०० वर्षको जन्मजयन्तीका अवसरमा लोकार्पण गर्न पाएको यथार्थ औंल्याएका थिए । समारोहमा भट्टराई परिवारकै कवि लंक्ष्मण गाम्नागेले ’मेरा बा’ शीर्षकको एउटा कविता वाचन गरी समारोहलाई मोहित पारेका थिए । कार्यक्रमको सञ्चालन कथाकार अमोददेव भट्टराईले गरेका थिए । धेरै जसो साहित्यकारहरू तथा घर परिवारका सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम सभ्य, भव्य, छोटो र मीठो रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय