स्याङ्जा आगलागीको चपेटामा : सामुदायिक वन क्षेत्र सखाप हुँदै, आकाशमा धुँवाका मुस्लामात्र

२०८१ बैशाख २०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल

स्याङ्जा,२० वैशाख । स्याङ्जा जिल्ला यतिबेला आगलागीको चपेटामा परेको छ । जिल्लाका विभिन्न स्थानमा भएका आगलागीमा परी करोडौंको क्षति भएको छ । थुप्रै घर र गोठ जलेका छन् भने विभिन्न ठाउँमा भएको आगलागीबाट सामुदायिक वन सखाप बनेको छ ।

पुतलीबजार ११ करेन्डाँडामा मंगलबार आगलागीबाट ग्याँस सिलिन्डर पड्किन गई एक जना महिला घाइते भएको तथा घाइतेको जिल्ला अस्पताल स्याङ्जामा उपचार भएको पुतलीबजार ११ का वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो ।उहाँका अनुसार सुन्तला उत्पादनका लागि प्रसिद्ध करेन्डाँडा क्षेत्रमा करिब १५०० वटाभन्दा बढी सुन्तलाका रुखहरु समेत आगलागीबाट जलेर नष्ट भएका छन् ।

मंगलबार बिहानबाट सुरु भएको भीषण आगलागी पुतलीबजार र वालिङ नगरपालिकाका दमकलहरुको सहयोगमा नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु मिलेर बस्तीमा जानबाट रोकिएको स्थानीय सञ्चिता नेपालले बताउनुभयो । आगलागीको रापका कारण केहीबेर सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको थियो ।

त्यस्तै चापाकोट नगरपालिकाको वडा नं १ मैदान र वरिडाँडामा आगलागीबाट ५ घर र ६ गोठ जलेर नष्ट भएका छन् । आगलागीको क्षति निरीक्षण गर्न पुग्नुभएका गण्डकी प्रदेशका निवर्तमान सांसद भागवत् प्रकाश मल्लले भन्नुभयो ‘आगलागीबाट घर र गोठ जलेका छन् । घर जलेपछि उक्त घरमा बस्ने मानिसहरुको बिचल्ली भएको छ । पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।’ मल्लले बताउनुभयो ।

त्यस्तै केही दिन पहिले कालीगण्डकी ५ मा आगलागीबाट १ घर ३ वटा गोठ जलेका छन् । फेदीखोला गाउँपालिका वडा नं ४ को राम्चेदेवी सिद्धथानमा मंगलबार राति लागेको आगो बराकुनादेखि राँपुको सुखरा क्षेत्रसम्म पुग्दा ठूलो वन क्षेत्र सखाप भएको स्थानीय पूजा गुरुङले बताउनुभयो । त्यस्तै स्याङ्जाको ऐतिहासिक क्षेत्र नुवाकोट वरिपरिको जङ्गलमा एक हप्तादेखि लगातार आगलागी भइरहेको छ ।

आँधीखोला गाउँपालिका वडा नं ५ को गोगनपानीमा भएको आगलागीमा परी लाखौंको खानेपानीको पाइप जलेको छ । आँधीखोलाको सेतीदोभानमाथिको वनमा आगलागी हुँदा खानेपानीका पाइपहरु जलेका छन् भने वन भएको क्षेत्र खुइला डाँडामा परिणत भएको स्थानीय अशोक पौडेलले बताउनुभएको छ ।

यस्तै गरी मंगलबार नैं स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १ स्थित स्याङ्जा सदरमुकाममा मंगलबार बिहानै एक घरमा आगलागी भई घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । कुँडो पकाउने क्रममा आगो सल्किँदा दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ ।

जिल्लाका ठूला वन क्षेत्रहरुमा आगलागी हुँदा वन पैदावारहरु नष्ट भएका छन् भने जङ्गली जनावरहरु समेत सङ्कटमा परेका छन् । स्याङ्जाको आकाशमा कालो मुस्लो देखिन थालेको छ भने जताततै तुँवालो जस्तो देखिइरहेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गरी आगलागीका लागि पूर्व सचेतता अपनाउन अपील गरेको छ भने आगलागी भइसकेपछि प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय