भिरकोट नगरलाई सूचना प्रविधि मैत्री र प्लास्टिक झोला मुक्त बनाइदै

२०८१ बैशाख २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २९ वैशाख । २०७७ फागुनमा बाल मैत्री घोषणा गरेको स्याङ्जाको भिरकोट नगरपालिका यही २०८१ असार मसान्त भित्र सूचना प्रविधि मैत्री र प्लास्टिक मुक्त नगरपालिका बनाइँदैछ। मुख्य मन्त्री नब प्रवर्द्धन साझेदारी कार्यक्रम र नगरपालिकाको साझेदारीमा उक्त कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रमको लागि गण्डकी प्रदेशबाट ६५ लाख र बाकी आवश्यक ३५ लाख ७६ हजार नगरपालिकाले खर्च गर्नेछ । पछिल्लो वर्षको मुख्यमंत्री नब प्रवर्द्धन कार्यक्रम अन्तर्गतको रकम सुन्तला खेतिको साथमा बाख्रा र बंगुर पालनमा गरिएको थियो भने अहिले सूचना तथा प्रविधि मैत्री एबम् प्लास्टिक मुक्तमा लगानी गरिने योजना अनुगमन तथा कार्यक्रम अधिकृत याम प्रसाद रेग्मीले जानकारी गराउनुभयो।

उहाँले भन्नुभयाे “झोला सिलाई तालिम, प्लास्टिकको समस्या समाधान सम्बन्धी जनचेतना मुलक कार्यक्रम, सूचना प्रविधि र प्रति घर दुई दुई झोला वितरण गरिने छ ।” नगरपालिका भित्र रहेका सत्र वटा विद्यालयमा इ हाजिरी मेसिन र सिसी टीभी क्यामेरा जडान गरिने र विद्यालयको शैक्षिक गतिविधि विद्यार्थी शिक्षक उपस्थिति र क्रियाकलापको बारेमा जानकारी र गुणस्तर वृद्धिलाई प्राथमिकता दिइने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी गराउनुभयो।

त्यसै गरी प्लास्टिक मुक्त बनाउन आबस्यक सचेतना फैलाउने सूचना तालिम गोष्ठी गरिने वडा विद्यालय टोलमा सचेतना सम्बन्धी कार्यक्रम गर्ने र प्लास्टिकको प्रयोगले बाताबरणमा पार्ने प्रभावका बारेमा जानकारी गराई बाहिर हिँड्दा प्लास्टिक लिएर हिँड्न नपाइने व्यवस्थाको लागि सुरुवातमा नगरले प्रति घर दुई दुई वटा झोला निःशुल्क उपलब्ध गराउने र असार मसान्त सम्ममा यो कार्यक्रम लागू गरी प्लास्टिक मुक्त सूचना र प्रविधि मैत्री नगर घोषणा गर्ने जानकारी गराउनुभएको छ । नगर प्रमुख कर्माचार्यले भन्नुभयाे, “प्लास्टिक जम्मा गरी प्लास्टिक प्रशोधन गरी विविध कुर्ची टेवल प्लेट टायल बनाउने भावी योजना पनि नगरले राखेको छ ।”

भिरकोटका सबै वडाको प्रतिनिधित्व हुने गरी २१ जनाको सहभागितामा एक हप्ते झोला सिलाई तालिम सम्पन्न गरिएको नगर प्रवक्ता तथा वडा नम्बर एकका वडाध्यक्ष दिपेन्द्र केसीले जानकारी गराउनुभयो । त्यसैगरी नगरमा सीप सिकाउन आजसम्म चार दर्जन भन्दा बढी कार्यक्रम गरिसकेको र यसको सदुपयोग नभएको हुँदा अहिले याे कार्यक्रम गरीएकाे उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे “सूचना प्रविधि मैत्री र प्लास्टिक मुक्त योजनाको झोला सिलाई कार्यक्रममा सक्रिय भएर नगरको उद्धेश्य सफल बनाउन नगरबासी सम्पूर्णले सहयोग र साथ दिनुहुनेछ ।” तालिम लिनु भएकाले सीपको सदुपयोग गरी नगर र बाताबरण सहज बनाउन भूमिका खेल्नुहुन उहाँले आग्रह गर्नुभएको छ ।

नगरले प्लास्टिकको झोला मुक्त गर्न र भिरकोटमा बेरोजगार भएर बसेका महिला हरुलाई घर मै बसेर महिला उद्यमी बनाउन सकिने उद्देश्य सहित नगरपालिका भित्र नै झोला सिलाई तालिमको व्यवस्था गरिएको हो । यसको लागि आवश्यक सामग्री कच्चा पदार्थ नगरले व्यवस्था गर्ने र सीप सिक्नेहरुले कामको आधारमा रकम प्राप्त गर्ने जानकारी नगर प्रमुखले गराउनुभयो । झोला सिलाई कामको लागि कुनै टेलरलाई जिम्मा लगाए पनि नगरलाई सहज हुनेथ्यो तर नगर भित्रका महिला दिदी बहिनीलाई सीप सिकेर केही गर्न सक्ने अवसर जुटोस् भनेर कार्यक्रम नगर भित्र सञ्चालन गरिएको प्रवक्ता केसीले जानकारी  दिनुभयाे।

बाताबरण स्वच्छ बनाउन, महिला उद्यमी बढाउन नगर भित्र सीप बढाउन, सूचना प्रविधि मैत्री र प्लास्टिक मुक्त बनाउन नगर आत्मनिर्भर बनाउनको लागि आ आफ्नो ठाउँबाट सबै जना नगरबासी सचेत भएर लाग्नुपर्ने देखिन्छ । एक जना मात्र तयार भएर बाताबरण स्वच्छ बनाउन सम्भव हुँदैन । आ आफ्नो जिम्मेवारी सबैले वहन गर्नुपर्ने हुन्छ। हातेमालो गरेर अघि बढ्नुपर्छ । जसले एकता बढाउन, स्वच्छ बाताबरण बनाउन र केही कार्य गर्नमा उत्प्रेरित गर्नुको साथै सहज परिस्थिति खडा गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय