सशस्त्र द्वन्द्वका बेला माओवादीकाे गोली बाट घाइते काँग्रेस नेता एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन

२०८१ जेष्ठ १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १ जेठ । नेपाली काँग्रेस स्याङ्जाका अग्रज नेता प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान ७५ बर्षको उमेरमा निधन भएको छ ।

झण्डै २ बर्षअघिदेखि बिरामी भएर उपचार गराइरहनुभएका रेग्मीको मंगलबार बिहान ५ बजे आफ्नै घर भीरकोट नगरपालिका ७ गेझवासमा निधन भएको हो । स्याङ्जा काँग्रेसका ३ पटक सभापति र राष्ट्रिय सभा सदस्य भएर स्याङ्जा र मुलुकका लागि योगदान गर्नुभएको छ ।

जिब्रोको क्यान्सर उपचार गराइरहनु भएको रेग्मी एक साताअघि घर फर्किनु भएको थियो । भरतपुर र काठमाडौंमा उपचारपछि चिकित्सकको सल्लाह र उहाँको ईच्छा बमोजिम घर आउनुभएको थियो ।

लामो समय शिक्षण पेसामा आबद्ध रेग्मी राजनीतिमा पनि उत्तिकै क्रियाशील रहनुभयो । राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई २०१७ पुस १ गते अपदस्थ गरेपछि रेग्मी राजनीतितर्फ आकर्षित हुनुभयो । वीपीसँगै निर्वासनमा बसेर काम गर्नुभयो । स्याङ्जालाई काँग्रेसमय बनाउने अभियानमा उहाँ निरन्तर क्रियाशिल रहनुभयो ।

सशस्त्र द्वन्द्वका बेला उहाँलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ महिनामा उहाँमाथि माओवादीले गोली हाने र घाईते बनाएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उहाँ पटकपटक जेल जीवन बिताउनु परेको थियो ।

बुबा देवीप्रसाद र आमा नोनाकुमारीबाट जन्मेका १३ सन्तानमध्ये उहाँ तेस्रो सन्तान हुनुहुन्छ । उहाँका एक पत्नी हुनुहुन्छ । किसान परिवारमा वि.स. २००६ साल साउन १५ गते नागपञ्चमीका राती जन्मेका उहाँको जन्म भएको थियो ।

आफनो राजनीतिक एवं सामाजिक यात्रालाई समेट्दै उहाँले ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ पुस्तक सम्पादन एवं प्रकाशन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय