सरस्वती मा वि गैरीखेतलाई लुमा डिभाईस हस्तान्तरण

२०८१ असार ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल

स्याङ्जा, ७ असार । लुमा एजुकेशन र रोटरी क्लव अफ पोखराले आज श्री सरस्वती माध्यमिक विद्यालय पुतलीबजार ३ गैरीखेतलाई एक थान लुमा डिभाईस उपलब्ध गराएको छ । उक्त डिभाईस पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गोदारलाई हस्तान्तरण गर्नुभएको छ ।

लुमा एजुकेशनले पिस कोरसँगको समन्वयमा स्याङ्जा जिल्लाका २ विद्यालयहरु श्री सरस्वती मा वि पुतलीबजार ३ गैरीखेत र श्री सरस्वती मा वि वालिङलाई लुमा डिभाईस प्रदान गरेको छ । जादुमय बाकस ९ म्याजिक बक्स० नाम दिईएको यो डिभाईसमा प्रोजेक्टर, कम्प्युटर, सर्भर तथा व्याट्री समेत जडान गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्वीकृत प्राप्त लुमा डिभाईस ईन्टरनेट र विद्युत नहुँदा पनि चलाउन सकिने, विद्यालय तहका सबै कक्षाका सबै विषयहरु डिजिटल माध्यममा शिक्षण गर्न सकिने गरि सामग्रीहरु राखिएको छ । लुमा एजुकेशनले विद्यालयमा लुमा डिभाईसको प्रयोग गरी कक्षा सञ्चालन गर्नका लागि छनौटमा परेका विद्यालयका ३ जना विद्यार्थी, ३ जना शिक्षक, पिस कोर स्वयंसेवक र प्रधानाध्यापकलाई ३ दिन तालिम समेत प्रदान गरेको छ ।

लुमा डिभाईसको प्रयोग गरि शिक्षकहरुले पढाउँदा रमाइलो तरिकाले पढ्न सकिने कुरा तालिममा सहभागी कक्षा ६ का विद्यार्थी प्रज्वल गुरुङले बताए । सरस्वती मा वि गैरीखेतका प्र अ कृष्णबहादुर गोदारले समयको माग र विद्यार्थीको चाहना अनुसारको लुमा डिभाईस रहेको बताउनु भयो । उहाँले यो डिभाईसको प्रयोग गरि शिक्षकले पाठ योजना बनाउन सक्ने, हजारौं सामग्रीहरु राखिएकोले प्रशस्त सामग्रीको प्रयोग गरि कक्षा शिक्षण गर्न सकिने बताउनु भयो । यो डिभाईसले शिक्षकहरूलाई बाहिरी संसारसँग जोड्न थप स्रोतहरु उपलब्ध गराउने, अन्तर्क्रियात्मक रुपमा अध्ययन अध्यापन गर्न सकिने कुरा व्यक्त गर्दै विद्यालयका सबै शिक्षकहरूलाई लुमा डिभाईस चलाउन दक्ष बनाई यसको पूर्णरूपमा सदुपयोग गरी विद्यार्थीको सक्रिय सिकाइ क्रियाकलापमा जोड दिने बताउनु भयो ।

लुमा एजुकेशनले दिएको ३ दिने तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले लुमा डिभाईसको प्रयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने भएकोले लुमा डिभाईसको पूर्ण सदुपयोग गर्नुपर्ने बताउनुभयो । साथै नेपालको शिक्षा प्रणालीमा सुधार नगरी युवाको वैदेशिक पलायन रोक्न नसकिने भएकोले राज्यक‍ो आवश्यकता र समयक‍ो माग अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम बराल, रोटरी क्लव अफ पोखरा र लुमा एजुकेशनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय