अविरल वर्षाका कारण स्याङ्जाकाे धानखेतीमा ठूलाे क्षति

२०८१ असार २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राजनप्रसाद पौडेल

स्याङ्जा, २६ असार । अविरल वर्षाका कारण स्याङ्जामा भर्खरै रोपेको धानमा ठूलाे क्षति पुगेकाे छ । शुक्रबारदेखि लगातार ४ दिनसम्म परेको वर्षाका कारण आँधीखोला तथा सहायक खोलाहरुमा बाढी आउँदा भर्खरै रोपेको खेतमा क्षति पुग्नुका साथै कुलोहरुसमेत बगाएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयाे । जिल्लाको बिरुवा गाउँपालिका, पुतलीबजार, भीरकोट र वालिङका फाँटहरुमा बाढी पस्दा भर्खरै रापेको धानमा क्षति पुगेकाे हमालले जानकारी दिनुभयाे । उहाँका अनुसार जिल्ला भरी २० प्रतिशत कुलोको संरचना समेत बगाएको छ ।

चिन्नेबासमा ५० रोपनी धानमा क्षति गरेको छ भने नदीसंगै जोडिएका कुलोको मुहान समेत बगाएको छ । साउन अन्तिमसम्म पनि धान रोप्न सकिने भएकाले अब बिउ उमारेर पनि धान रोप्न सकिने केन्द्रका प्रमुख हमालले बताउनुभयाे । प्रमुख हमालले भन्नुभयाे, ‘पूर्णरुपमा नपुरेका रोपोहरु आउन सक्छन् तर पाँगोले पुरिएका तथा बगाएका रोपोहरु आउँदैनन् । २२ दिनमै तयार हुने बीउ उमारेर साउन २० देखि २५ सम्म पनि धान रोप्न सकिन्छ ।’

जिल्लामा ३५ प्रतिशत क्षेत्रफलमा बाहै्रमास सिंचाई हुने खेतहरु छन् भने बाँकी आकाशे पानीको भरमै धान रोपाई हुने गरेको छ । सोमबार सम्म जिल्लामा ४२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गतवर्षको तुलनामा ढिलो रोपाइँ शुरु भएपनि रोपाइको प्रतिशत भन्ने उस्तै रहेको प्रमुख हमालले बताउनुभयाे ।

११ पालिका रहेको जिल्लामा सबैभन्दा धेरै फेँदिखोला र आँधीखोलामा रोपाइँ भएको छ। यी दुई पालिकामा समान ७०÷७० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । त्यस्तै हरिनासमा ६० प्रतिशत, अर्जुनचौपारीमा ५५ प्रतिशत, पुतलीबजारमा ५० प्रतिशत, भीरकोटमा ४० प्रतिशत, विरुवामा ३५ प्रतिशत, वालिङमा ३० प्रतिशत, कालीगण्डकी र चापाकोटमा समान २५÷२५ प्रतिशत र सबैभन्दा कम गल्याङमा २० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको केन्द्रका प्रमुख हमालले बताउनुभयाे ।

जिल्लामा १४ हजार हेक्टरमा वर्षे र २ हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ हजार हेक्टर क्षेत्रफल धान रोपाइँ हुने क्षेत्रफल घटेको हो । यद्यपि धान रोपाइँ हुने क्षेत्रफलमा भने कृषकले मलखाद व्यवस्थापन, उन्नत जातको बिउ छनोट, मलको अभाव नहुनुले उत्पादन भने राम्रो भईरहेको केन्द्रको तथ्यांक छ ।

यो वर्ष गण्डकी प्रदेशमा पर्याप्त वर्षा हुने मौसमविदले प्रक्षेपण गरेका कारण जिल्लामा ९५ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । गतवर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको थियो । विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरुले उन्नत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयाे ।

स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन । यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय