सम्पत्ति भएर पनि राजस्व नतिर्नेहरु जनप्रतिनिधि हुन नपाउने कडा कानुन आवश्यक छ : उपसभामुख राना

२०८१ असार २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौ,२६ असार । प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले नेता छान्ने समयमा राज्यको कोषमा उसले गरेको योगदानलाई पनि ध्यान दिनुपर्ने धारणा राख्नु भएको छ । नेतासंग थुप्रै सम्पत्ति भएपनि करको दायरामा नआएको भन्दै नेताको सम्पत्ति अनुसारको कर तिर्ने कडा कानुन आवश्यक आएको बताउनुभयो ।

राष्ट्रिय बाणिज्य बैंकको आयोजना,संघीय सांसद सचिवालय संसदीय प्रशिक्षण शाखाको सहकार्य र विफक्याब संस्थाको समन्वयमा बुधबार सिंहदरबारमा भएको संघीय संसदलाई बित्तीय साक्षरता कार्यक्रममा बोल्दै उपसभामुख रानाले देश संचालनको तहमा पुगेका ब्याक्तीनै राजस्व लगायत बिसयमा जानकार नहुनु राम्रो पक्ष नभएको भन्दै देश सफल हुन सबै नागरिकमा वित्तीय साक्षरता आवश्यक रहेको धारणा राख्नुभयो । नागरिक सफल भए देश सफल हुने भन्दै नागरिक सफल हुनको लागि वित्तीय साक्षरता आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले हरेक सांसदले अब डिजिटल बैंकिङ प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “माननीय ज्यु हरुको कुरालाई जनताले महत्त्व दिन्छन् त्यसैले तपाईंले आफ्नो कारोबार गर्दा पनि डिजिटल बैंकिङ मार्फत मात्रै गर्न आग्रह गर्दछु ।” उहाँले आफ्नो उदाहरण दिदै भन्नुभयो क्यु आर स्क्यान (QR Scan)  नभएको ठाउँमा समान नलिने भनेपछि मेरो बस्ती आसपासका सबै व्यवसायीहरुलाई अहिले डिजिटल बैंकिङ प्रयोग गर्नुभएको छ । अब त्यस्तै सबै माननीयहरुले पनि सुरुवात गर्नुपर्नेमा रेग्मीले जोड दिनुभयो । हामीले प्रयोग गर्ने दैनिक क्रियाकलापमा केही परिवर्तन गर्नसके देशको अर्थतन्त्रमा देखिएको केहि समस्य समाधान हुनेमा पनि उहाँकाे जोड थियाे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरन्जिबी नेपाल र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहालले माननीय संघीय सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले रा.वा.बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्धाका बारेमा तथा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङ्गका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा संघीय सांसदहरुले जिज्ञासा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय