काठमाडौँ,१ साउन । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेकाे छ । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।