काठमाडौं, १ साउन । गरिमा विकास बैंकले अन्तरराष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको शुरूवात गरेको छ ।
कम्पनीेले साउन १ गतेदेखि लागू हुने गरि फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको शुरुवात गरेको हो ।
यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले BHIM र PhonePe लगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट कम्पनीको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।
कम्पनीले यो सेवा छिटो, छरितो र भरपर्दो रुपमा उपलब्ध गराउनका लागि आफ्ना व्यवसायिक ग्राहकसँग सहकार्य गरेको हो । यस प्रकारका सेवाहरूले नेपाल र भारत बीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा कम्पनीले लिएको बताएको छ ।
कम्पनीले काठमाडौ उपत्यकाभित्रका २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।