धादिङ, १२ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा काठमाडौं आउने क्रममा पहिरोले पुरेका दुईवटा गाडीबाट १४ जना यात्रुको शव निकालिएको छ ।
बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ ।
अझै पनि त्यहाँ खोजीकार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए ।
१२ जना यात्रु सवार रहेको भनिएको पहिरोले पुरिएको विङ्गर र नम्बर नखुलेको बसबाट शनिबार साँझसम्म शव निकाल्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
झ्याप्ले खोलामा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर र अर्को बस पुरिएको थियो । विङ्गरका चालक रमेश लुइँटेल थिए ।