झ्याप्ले खोलाको पहिरोमा परि स्याङ्जाका एकैघरका तिनको मृत्यु

२०८१ आश्विन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,१३ असोज । अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं.३ लल्याङ स्थायी घर भै बुटवल बसोबास गर्दै आउनुभएका आमा सीता भट्टराई छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराईको दुखद निधन भएको हो ।

बुटवलको कालिका मानवज्ञान मा.वि. कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराईले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियर २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश पुग्नुपर्ने भएका कारण उहाँहरु शुक्रबार काठमाडौ जानको लागि बुटवलबाट माइक्रो चढ्नुभएकाे थियाे ।

बुटवलबाट काठमाडौंको लागि छुटेको लु १ ज ४५७८ नम्बरको उनीहरू सवार रहेको माइक्रो शनिबार राती झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको थियो । उहाँहरूसंगै त्यस ठाउँबाट १४ जनाको शव निकालिएको नागढुंगा प्रहरी विभागले जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कोरिया बस्दै आएका बुवा होमनाथ भट्टराई भने नेपाल आउने तयारीमा रहनुभएकाे छ ।

अहिले गल्याङ नगरपालिका वडा नं। ३ लल्याङ गाउँ पुरै शोकमा डुबेको छ । यसैक्रममा गल्याङ नगरपालिका वडा नं।३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले पनि यो घटनाले अत्यन्तै मर्माहत बनाएको र शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै आवश्यक सहयोगमा जुट्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय