वर्तमान सरकार ढल्छ कि भनेर विपक्षी दलहरूले सपना नदेखे हुन्छ: कोइराला

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर,३ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिनुभएकाे छ ।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याउनुभयाे ।

आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै उहाँले सरकारले उद्देश्यअनुरुप कार्य भने गर्न नसकेको टिप्पणी गर्नुभयाे ।

‘यो सरकार ढल्दैन, चल्छ, तर सरकार सरकार जस्तो भएर चल्नुपर्दछ’, कोइरालाले थप्नुभयाे, ‘गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खानमात्रै सरकार बनेको होइन । मन्त्रीहरूले इमानदारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’ कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार