कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मिन विश्वकर्मा

२०८१ कार्तिक ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, ६ कार्तिक । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले वर्तमान सत्ता गठबन्धनलाई २०७९ को निर्वाचनपछि ०८४ सम्मका लागि बनेको सबैभन्दा ‘उत्कृष्ट गठबन्धन’ को संज्ञा दिनुभएकाे छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेलाई पालैपालो प्रयोग गरेको बताउनुभएकाे छ । उहाँले प्रचण्डको अस्थिर मनस्थिति र चुलबुले उत्ताउलोपनाका कारण कांग्रेस–एमालेसहितको गठबन्धन बनेको बताउनुभयाे ।

वर्तमान सत्ता गठबन्धन बन्नुमा प्रचण्डको देन रहेको दाबी गर्दै उहाँले यो गठबन्धन भत्काउने खेलमा नलाग्न आग्रह गर्नुभयाे । ‘अहिले हामी यो गठबन्धनको विकल्प खोज्ने, अथवा केपि शर्मा ओलीलाई असहयोग गर्ने, कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैन,’– उहाँले भन्नुभयाे ।

साथै, नेकपा (एमाले) ले व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा लिनु गलत रहेको उहाँको टिप्पणी छ । नेता विश्वकर्माले सरकारवादी मुद्दा खेपिराखेका गुरुङसँग एमालेले जग्गा दान लिँदा दलहरुप्रति जनतामा नकारात्मक सन्देश गएको बताउनुभयाे । एमालेले मिनबहादुर गुरुङसँग जग्गा लिनु कानुनी, राजनीतिक र नैतिक दृष्टिकोणले पनि गलत रहेको उहाँको भनाइ छ ।

‘जो व्यक्ति जग्गासम्बन्धी, अनियमितता सम्बन्धी सरकार वादी मुद्दा बोकिराखेका छन्, आमनेसामने मीनबहादुर गुरुङ र नेपाल सरकारको बीचमा झैझगडा छ, मुद्दा मामिला छ । तर, सरकारवादी मुद्दा बोक्ने सरकारले नै मीनबहादुर गुरुङसँग अत्यन्त ठूलो रकम बराबरको जग्गा प्राप्त गर्नुभनेको कानुनी दृष्टिकोण, राजनैतिक दृष्टिकोण र नैतिक दृष्टिकोणबाट पनि यो मिल्ने कुरा होईन । यो हाम्रो पार्टीको धारणा हो, मेरो धारणा हो । यो गलत काम हो, यो गर्न हुँदैन । यसले दलहरुप्रति थप नकरात्मक धारणा बनाएको छ,’– उहाँले भन्नुभयाे ।

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले स्टन्टबाजीमात्रै गरेको र सहकारी ठगी प्रकरणमा कसैलाई पक्राउ नगरेको उहाँले बताउनुभयाे । वर्तमान सरकारले हल्ला नगरी अभियुक्तहरुलाई पक्राउ गर्ने काम गरिरहेको उहाँले बताउनुभयाे  । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन कायम गर्न नियमित रुपमा काम गरिरहेको उहाँले बताउनुभयाे । नेता विश्वकर्माले उजुरी परेकाविरुद्ध अनुसन्धान गर्ने अधिकारीले पक्राउ गर्ने बताउनुभयाे ।

त्यस्तै, सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बन्न बालकोट र बालुवाटारमा गएर बिन्त बिसाएको उहाँको दाबी छ । अरु मन्त्री बनेको भए जतिबेला पनि पक्राउ पर्नसक्ने डरले लामिछाने गृहमन्त्री नै बनेको नेता विश्वकर्माको दाबी छ । लामिछाने गृहमन्त्री बनिसकेपछि स्वार्थको द्वन्द्व हुने भनेर आफूहरुले विरोध गरेको उहाँले बताउनुभयाे । नेता विश्वकर्माले प्रहरी प्रशासनलाई नियन्त्रणमा राखेको अवस्थालाई कांग्रेसले हेरेर बस्न नसकेको कारण सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय विशेष समिति बनेको उहाँको भनाइ छ । उक्त समितिको प्रतिवेदनको आधारमा नै अहिले लामिछानेलाई पक्रिएको उहाँले बताउनुभयाे । त्यस प्रतिवेदनलाई सन्दर्भ सामाग्री मानेर प्रहरीले अनुसन्धान अगाडि बढाउने र जुनसुकै दलका नेताहरु पनि अनुसन्धानको दायरामा आउनुपर्ने उहाँले बताउनुभयाे । उहाँले लामिछानेको रिहाईको माग गर्दै भइरहेको प्रदर्शनप्रति आपत्ति जनाउनुभयाे ।

‘पुरानाले केही गरेन, पुरानाहरु भ्रष्ट भए रे । अनि नयाँ मानिसलाई ठगीको आरोप लाग्छ । भएजति सबै त्यो पार्टीका केन्द्रीय कार्य समिति, वडा कार्यसमितिदेखि संघीय संसद्का सबै एक ठाउँमा बसेर ठगलाई रिहाइ गर, ठगलाई रिहाइ गर भनेका छन् । बडा विचित्रको छ,’– नेता विश्वकर्माले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय