स्याङ्जा , ८ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तरवाहिनीमा कात्तिक ९ देखि ३० गतेसम्म महोत्सव गरिने भएको छ । जीवित रहेका आफ्ना मातापिता प्रतिको कर्तव्यबोध गराउँदै दिवङ्गत भइसकेको मातापिता प्रति श्रद्धाभाव जनाउन महोत्सव गर्न लागिएको हो ।
कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी नदीको किनार ‘मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव’ गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अभिभावक प्रतिको दायित्वबोध गराउँदै संस्कारयुक्त समाजको निर्माण गर्न महोत्सवको आयोजना गरिएको हो ।”
कालीगण्डकी उत्तरवाहिनी नदिको विशेष महत्त्व रहेको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको चैतन्यकृष्णले बताउनुभयो । महोत्सवका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चैतन्यकृष्णले कालीगण्डकी धार्मिक पर्यटनका लागि राम्रो सम्भावना भएको क्षेत्र भएको स्पष्ट पार्नुभयो ।
सो अवसरमा शिक्षा अध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, अनेकौँ विज्ञहरूको सम्मेलन, गोष्ठी सेमिनारहरू, आयुर्वेद योग र प्राकृतिक उपचारको सिकाई गरिने छ । यसैगरी कर्मकाण्ड, ज्योतिष एवम् वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरूको बिचमा अदभूत अन्तर्संवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो ।
प्रतिष्ठानद्वारा सञ्चालित गुरुकुलममा विभिन्न जिल्लाका गरी ३३ जना विद्यार्थीहरू अध्ययनरत छन् । महोत्सवले विद्यार्थीहरूको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागि सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ । गुरुकुलममा विद्यार्थीहरू निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । उनीहरूको निःशुल्क विद्यादान, अन्नदान र जीवनदानका लागि अक्षयकोष स्थापनार्थ यो महामहोत्सवको गर्न लागिएको अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो । विभिन्न कार्यक्रम मार्फत ११ करोडको अक्षयकोष स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।
महोत्सव २१ दिन सम्म सञ्चालन हुने छ ।