काठमाडौ,२ कार्तिक । सहकारीका नाममा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङलाई नियोजित रुपमा बदनाम गरिएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले बताउनु भएको छ ।
रकम हिनामिनाको केश फौजदारी अभियोग अन्तर्गत पर्ने भन्दै फौजदारी केश जो दोषी हो उहीँ कारबाहीको भागिदार हुने भन्दै सम्बन्ध बिच्छेद भएकी श्रीमतीसंग जोडेर नियोजित रुपमा बदनाम गर्न खोजिएको उहाँको तर्क थियो ।
नेपाली रेडियो नेटवर्कको रेडियो कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुराकानी गर्दै उहाँले भन्नुभयो “दोषी र निर्दोष ठहर गर्ने निकाय म होइन तर अहिले बजारमा आएका हल्लामा कुनै प्रमाण नभेटिएको अनुसन्धानमा संलग्न निकायहरू बताउदै आएका छन् ।” शक्तिको आडमा नेपाली काङ्ग्रेसका उपसभापति गुरुङलाई बचाउन त खोजिएको हैन भन्ने धमलाको प्रश्न डाक्टर शेखरले बिषयबस्तुलाई अतिरन्जित नगर्न आग्रह गर्दै सरकारका निकायलाई अनुसन्धान गर्न दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “संसदबाट म माथी छानबिन गरियोस् भन्ने नेता लाई यस्ता अनावश्यक आरोप लगाएर अनुसन्धानलाई प्रभावित नगरौं । अनुसन्धानलाई सघाउछु भन्दै केहि दिन पहिले सिआईबि समेत पुग्नु भएको थियो ।”
धनराजलाई बचाउन र रबिलाई फसाउन नेपाल सरकार लागेको हो भन्ने धमलाको प्रश्न उहाँले नेपाल सरकार कसैलाई बचाउन र फसाउन नलाग्दै भन्दै प्रमाणका आधारमा सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाएको हुँदा यसलाई आग्रह पुर्वाग्रह भन्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “अहिले चर्चामा आएको धनराज र रबिको केशमा कुनै अन्तर छैन । रबिको आफै संलग्न भएको भन्ने छ । धनराजको पुर्व श्रीमतीले गरेको भन्ने हाे ।”