नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैन : पूर्वमन्त्री महासेठ

२०८१ मंसिर २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, २१ मंसिर । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले यस्तो बताएका हुन् । उनले बीआरआई परियोजनाबाट नेपालमा बनेका रेल, सडक लगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए ।

उनले चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्नसक्ने भएकाले नेपालले बिआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता बताए । उनले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबी गरे । उनले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पुर्याउनसक्ने भन्दै भारत बिआरआईबाट तर्सिनु नहुने बताए ।

उनले नेपालले कुनै भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्न नसक्ने भन्दै बीआरआई फ्रेर्मवक परियोजना भारत बिरोधी नभएको जिकिर गरे । उनले नेपाल सरकारले चीनसँग बिआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको दाबी गरे । उनले बीआरआई फ्रेमवर्कमा बन्ने सडक पूर्वाधारहरुमा अझै ओलाङ्चुङगोला,तमोर लगायतका आयोजनाहरु समावेश गरिन बाँकी रहेको बताए ।

उनले नेपाल–चीन जोड्ने चार वा ६ लेनको सडक बनाउँदै गर्दा निजी क्षेत्रले आफँै लगानी गर्ने बताए । उनले नेपालको प्रतिकुल नहुने गरी ऋण लिँदा केही समस्या नहुने भन्दै नेपाललाई चीन र भारतको बिरोधस्थल बनाउन नदिने बताए । उनले नेपालले चीन र भारत मात्रै नभएर विश्वका कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालबाट कुनैपनि बिरोधी गतिविधि गर्नदिन नहुने बताए ।

उनले बिआरआई परियोजना नेपाललाई आवश्यकता भएकाले सम्झौता गरिएको बताए । उनले बीआरआई परियोजनामा सरकारले ऋण लिने नभई परियोजनाले तिर्नेगरी ऋण लिनुपर्ने बताए । उनले बीआरआईभित्र ऋण र सहयोग केहि पनि नपर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय