क्रान्ति अर्याल
स्याङ्जा,२६ पुस । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री तथा माननीय सांसद सीताकुमारी सुन्दासले सहकारीले महिलाहरूको आर्थिक सशक्तीकरण र सामुदायिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सहकारीहरूले पारदर्शिता र नवीन योजनाहरूलाई प्राथमिकता दिएर सामुदायिक समृद्धिमा थप योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
श्री महिला सेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गल्याङ नगरपालिका–३, स्याङ्जाको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष इन्दिरा लुइटेलले गर्नुभएको थियो । लुइँटेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगति, चुनौती र आगामी योजना प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष भेमला बरालले आर्थिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, पूर्व उपप्रमुख देवीसरा थापाले आफ्नो धारणा राख्दै संस्थाको प्रगतिप्रति बधाई व्यक्त गर्नुभयो ।
तेस्रो अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ ।
अध्यक्ष देवीसरा थापा ,उपाध्यक्ष लालकुमारी गुरुङ,सचिव भेमला बराल,सहसचिव दुर्गादेवी पाण्डे,कोषाध्यक्ष: देवीकुमारी अर्याल रहनुभएको छ । सदस्यहरूमा अनिता श्रेष्ठ, कृष्णकुमारी राना, सुनिता अधिकारी रहनुभएको छ । त्यसैगरी लेखा समितिमा संयोजकमा गीता भण्डारी र सदस्यमा सिर्जना भट्टराई, रिता अर्याल रहनुभएको छ ।
यस संस्थाको स्थापना २०७५ साल साउन ६ मा भएको हो । प्रबन्धक मधुसूदन भट्टराईको नेतृत्वमा सहकारीले ७३२ महिला सेयर सदस्यहरूलाई आर्थिक गतिविधिमा सक्रिय बनाउँदै आएको छ । उक्त कार्यक्रमले सहकारीको आर्थिक प्रगति र आगामी लक्ष्यहरूलाई अघि बढाउन सबै सदस्यलाई एकताबद्ध भएर लाग्न प्रेरित गरेको छ ।