क्रान्ति अर्याल
स्याङ्जा, २ माघ । गण्डकी प्रदेशका सासंद महेश भट्टराईले समाज सुधार र व्यक्तित्व विकासको मूल आधार शिक्षा भएको बताउनुभएकाे छ । उहाँले शिक्षाले मात्र अन्धकार हटाएर उज्यालो ल्याउन सक्छ भन्दै सबैलाई शिक्षामा जोड दिन आग्रह गर्नुभयो।
स्याङ्जाको गल्याङ नगरपालिका–९, गौमुखस्थित श्री ज्ञानोदय माध्यमिक विद्यालयले स्थापना भएको ५०औँ वर्षको अवसरमा आयोजित स्वर्ण जयन्ती महोत्सवको समुद्घाटन गर्दै भट्टराईले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा बोल्दै भट्टराईले ५० वर्षको इतिहास बोकेको यस विद्यालयले शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको सराहनीय गर्दै भविष्यमा विद्यालयको स्तर उकास्न प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वर्ण महोत्सवको समुद्घाटन सँगै चारकोठे कार्यालय भवनको पनि उद्घाटन गर्नुभएको थियो ।
२०३१ सालमा स्थापना भएको विद्यालयले माघ १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भण्डारीले आर्थिक, भौतिक योजना तथा विद्यालयको इतिहासबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुसुम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले स्वर्ण महोत्सव समुदायको लागि गर्वको कुरा रहेको बताउँदै विद्यालयले आफ्ना विद्यार्थी र समुदायलाई दिएको योगदान अमूल्य रहेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले विद्यालयको ५० वर्षको यात्रा समाज र राष्ट्रको प्रगतिको लागि प्रेरणादायक भएको बताउनुभयो । त्यस्तै नगर उपप्रमुख हेमा न्यौपानेले शिक्षा प्रणालीको सुधारका लागि नगरपालिकाबाट आवश्यक सहयोग हुने बताउनुभयो । वडा नं ९ का वडा अध्यक्ष नामदेव खनालले विद्यालयलाई आगामी दिनमा अझ थप सफलता मिलोस् भन्दै विद्यार्थीहरू समाजमा सकारात्मक परिवर्तन ल्याउने नेतृत्वकर्ता बन्न सकुन र भन्ने शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै आफ्नो वडामा अवस्थित विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
त्यसैगरी उक्त कार्यक्रममा विद्यालयका संस्थापक सदस्य, हालसम्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, पूर्व प्रधानाध्यापकहरू र शिक्षकहरूलाई सम्मान गरिएको थियो । स्वर्ण महोत्सवका दोस्रो दिन माघ २ गते वृद्धसम्मान, छात्रवृत्ति वितरण, पुरस्कार वितरण र नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुने कार्यक्रम रहेको छ । त्यसैगरी माघ ३ गते चन्दादाता र जग्गादाताहरूलाई सम्मान, स्मारिका विमोचन र स्वर्ण स्तम्भ अनावरण गरिने कार्यक्रम रहेको विद्यालयले जानकारी दिएको छ । पहिलो दिनको कार्यक्रमले विद्यालयको गौरवपूर्ण इतिहासलाई उजागर गर्दै भव्यता प्रदान गरेको थियो ।