काठमाडौँ, २ माघ। प्रतिपक्षी दलहरुले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रको आह्वानमा बुधबार सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले संसद छलेर अध्यादेश ल्याउने कामले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै विरोध गरेको हो । सरकारको गलत रवैयाबिरुद्ध प्रतिपक्षी दलको चासो र चिन्ता रहेको बैठकपछि माओवादी उपमहासचिव बर्षमान पुनले जानकारी दिनुभयो । बैठकले संघीय संसदको नियमित बैठक बोलाउन माग समेत गरेको छ ।
सरकारले संसद बैठक बोलाउन आलटाल गरे वा संसद छलेर अघि बढ्न खोजे विशेष अधिवेशन बोलाउन माग गर्ने सम्मको तयारी भएको पुनले बताउनुभयो । दुई तिहाईको बलमा जनताको आवाज दवाउनेसम्मको कोशीस भएको बैठकको ठहर रहेको उहाले बताउनुभयो ।
त्यस्तै बैठकले दलसम्बन्धी विधेयकमा साना दलको आवाज कमजोर पार्ने षडयन्त्र भइरहेको र दुइदलीय व्यवस्था तर्फ देशलाई लैजाने कोशीस बेठिक रहेको निष्कर्ष निकालेको पनि पुनले जानकारी दिनुभयो ।
प्रतिपक्षी दलको साझा धारणा बनाउन अनौपचारिक ड्राफ्ट कमिटी बनाएको उहाले बताउनुभयो । बैठकका बिभिन्न ६ प्रतिपक्षी दलका नेताहरुको उपस्थीति रहेको थियो । अन्य प्रतिपक्षीमा रहेका दलहरुको पनि सकारात्मक समर्थन रहेको र आगामी बैठकमा सहभागी हुने खवर प्राप्त भएको पुनले जानकारी दिनुभयो ।