सुष्मा अर्याल
स्याङ्जा,११ माघ । दुग्ध उत्पादन गरेर बिक्रि गरे बापत नगरपालिकाको तर्फबाट उपलब्ध गराइने प्रतिलिटर १५ रुपैया बापतको रकम लिएर जनप्रतिनिधि गाउँ गाउँ पुगेका छन् ।
पालिका भित्रका किसानलाई दुग्ध उत्पादनमा प्रोत्साहन गर्ने उदेश्य अनुरुप पालिकाले उपलब्ध गराउने प्रति लिटर १५ रुपैयाँ रकम शुक्रबार गल्याङ नगरपालिका ९ मा वितरण गरिएको छ । गल्याङ नगरपालिका ९ बेलचौरमा रहेको श्री कृष्ण गण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुलाई अनुदान बापतको जम्मा रु २ लाख ८८ हजार १ सय ७२ रुपियाँ वितरण गरिएको हो ।
नगर प्रमुख गुरु भट्टराईको प्रमुख आतिथ्यमा वितरण गरिएको उक्त रकम कृषक प्रेम नारायण खनालले यस वडामा धेरै रकम बुझ्नु भएको हो । उहाँले यस आर्थिक बर्षमा २५ सय ८ लिटर दूध विक्रि गरि जम्मा रु ३७ हजार ६ सय ३३ रुपैयाँ अनुदान प्राप्त गर्नुभएको थियो भने संस्थामा आवद्द जम्मा ६२ जना किसानहरुलाई १९ हजार २ सय ११ लिटर दूध उत्पादन गरे बापत जम्मा रु २ लाख ८८ हजार १ सय ७२ रुपियाँ अनुदान वितरण गरिएको थियो ।
उक्त अनुदान वितरण कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नामदेव खनाल ,कार्यपालिका सदस्य हिरा पाठक खनाल,पशु शाखा प्रमुख डा।सुप्रिणा शर्मा लगायत सहकारी संस्थामा आवद्द कृषकहरुको उपस्थिति रहेको थियो।