राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थ केन्द्रित हुन थाल्यो : कोइराला

२०८१ माघ १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

विराटनगर ,१४ माघ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताउनुभएकाे छ । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गर्नुभयाे ।

उहाँले तीनै तहको सरकारमा बसेको अधिकांश व्यक्तिहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताउनुभयाे । ‘अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उहाँले थप्नुभयाे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरु छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उहाँको जोड थियो ।

नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउनुभयाे । उहाँले संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको टिप्पणी गर्नुभयाे । ‘हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी थिएन । अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ कि भन्ने आमजनतामा परेको छ,’ उहाँले भन्नुभयाे, ‘संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’

नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताउनुभयाे । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइराला लगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गर्नुभएकाे थियाे। प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नोना कोइराला त्याग र समर्पणको प्रतीक भएको बताउनुभएकाे थियाे । कार्यक्रममा कांग्रेस नेता वसन्त भट्टराईले नोना कोइरालाले पार्टीमा अभिभावकको भूमिका निर्वाह गरेको बताउनुभयाे । उहाँले मन्त्री पदसमेत अस्वीकार गरेर त्याग राजनीति गरेको स्मरण गर्नुभयाे । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोइराला निवासमा पुग्ने जोकोहीलाई नोनाले आप्mनै छोराछोरीको व्यवहार गर्ने गरेको बताउनुभयाे । उहाँले विपन्न र शहीदका छोराछोरीलाई धेरैलाई डाक्टर, इन्जिनियर बनाएको भन्दै चर्चा गर्नुभयाे । जनतालाई अधिकार दिलाउन कठोर र पार्टी र प्रजातन्त्रका लागि लडेकाहरुका लागि आमा बनेर प्रस्तुत हुने गरेको उहाँको भनाइ थियो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले नोना कोइरालासित राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय जोडिएको बताए । कोइराला परिवारलाई एक्कढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाको भनाइ थियो । प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले विराटनगरको आदर्श, आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरुको स्थापना र विकासमा नोना आमाको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् । उनले नोना कोइरालाले महिलाहरु आत्मनिर्भर र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने गरेको बताइन् । पुरस्कृत पत्रकार नेपालले सञ्चार क्षेत्रले जहिल्यै पनि विपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयाे । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, महासचिव अमित श्रीवास्तव, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रा.डा. संजीवकुमार शर्मालगायतले नोना कोइरालाको योगदानको चर्चा गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय