पूजा खड्का
पोखरा, २५ माघ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद नारालाई ध्यानमा राख्दै कांग्रेसले गण्डकी प्रदेश पोखरामा पार्टीका सभापति तथा उपसभापतिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार प्रदेश स्तरीय र मङ्गलबार र बुधबार जिल्लास्तरीय प्रशिक्षण पार्टीका शीर्ष नेतृत्वहरुको साथमा सातै प्रदेशका सभापति तथा उपसभापति र देश भरका ७७ वटै जिल्लाका सभापति तथा उपसभापतिको सहभागितामा पोखरामा सम्पन्न भएको हो । देशभरी बाट सहभागी पार्टी प्रतिनिधिको सहभागितामा पर्यटन राजधानी पोखरामा कांग्रेसको चहलपहल बढी नै देखिएको थियो ।
प्रशिक्षणमा पार्टी सङ्गठनलाई कसरी बलियो बनाउनेदेखि राष्ट्रिय रूपमा देखिएका समस्या नीति विधानका विषय र जलवायु परिवर्तन सम्मका मुद्दामा गम्भीर छलफल एवं बहस भएको सहभागी पार्टीका प्रदेश तथा जिल्ला सभापतिहरुले जानकारी गराउनु भयो ।
कार्यक्रमको उदघाटन समारोहमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षणको कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो भने महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्धाहरुको विषयमा, महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले पार्टी सङ्गठन, सदस्यता अभियान, केन्द्र र प्रदेश बीचको अन्तरसम्बन्ध विषयक माथि प्रष्ट पार्नुभएकाे थियो।
प्रशिक्षकका रूपमा रहेका विज्ञहरू डा. जगदीशचन्द्र पोखरेलले आर्थिक नीति र प्रजातान्त्रिक समाजवादका विषयमा, प्रतिष्ठानका सदस्य डा. कृष्ण पौडेलले कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास विषयक कार्यपत्र प्रस्तुति, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले नेपालमा सङ्घीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायीत्वको बारेमा र प्रतिष्ठानका सदस्य विश्वद्वीप लामिछानेले नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा विभिन्न समुह बनाएर समुह गत रुपमा छलफल गरी समुह लाई प्रतिनिधित्व गर्दै सामूहिक धारणा तथा सुझावका विषय व्यक्त गर्नुभएको थियो भने जिल्लाका सभापति तथा उपसभापतिहरुले जिल्ला पार्टी संगठनका गतिविधि, जिल्ला भित्र आएका विद्यमान चुनौतीका विषयमा जानकारी गराउनुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले गर्नुभएको थियो।
पोखरामा भएको यो प्रशिक्षण कार्यक्रमको समयमा सङ्गठनात्मक प्रशिक्षण सँगै पार्टी सङ्गठन सुदृढीकरण देखि जलवायु परिवर्तन लगायत विविध विषयमा गम्भीर छलफल भएको स्याङ्जा जिल्ला कार्यबाहक सभापति केदार काफ्लेले जानकारी दिनुभयाे ।
त्यसैगरी प्रशिक्षण कार्यक्रमले पार्टी लाई थप सशक्त बनाउन महत्वपुर्ण भुमिका निभाएको जानकारी सहित जिल्ला, नगर भित्र भएका जनजीविकाका विषयमा जल वायु परिवर्तनका विषय साथै कृषि प्रणालीमा बाँदर समस्या ग्रामीण बस्ती समस्या जस्ता विषयमा समाधान गर्नुपर्ने विषय स्वास्थ्य शिक्षा रोजगार जस्ता विषय र उत्पादन सङ्ग जोडिनु पर्ने विषयमा र भ्रष्टाचार अन्त्य गरी चुस्त दुरुस्त बनाउनुपर्ने जस्ता विविध विषयमा गुनासो र छलफल भएको थियो । त्यसैगरी दैविक प्रकोप, योजना निर्माणका विषयमा पनि छलफल भएको थियो।
पार्टीका केन्द्रीय उपसभापति तथा केन्द्रीय नीति, प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्ण बहादुर खड्काले पार्टीमा नया ऊर्जा थप्ने गरि समाज वा राष्ट्र र पार्टी प्रति देखिएका समस्यालाई मजबुद हुने किसिमबाट अघि बढ्ने तवरमा फर्कन सहभागी नेताहरुलाई आग्रह गर्नुभएको थियो।