साधना न्यौपाने
स्याङ्जा,२८ माघ । स्याङ्जा क्रिकेट लिग २०८१ का लागि गल्याङ नगरपालिका क्रिकेट टिमको जर्सी प्रायोजन स्मार्ट टेक सोलुशन काठमाडौँले गर्ने भएको छ। क्रिकेट संघ, स्याङ्जा (CAN अन्तर्गतको आधिकारिक निकाय) द्वारा आयोजित यो प्रतियोगिता माघ ३० देखि फागुन ७ सम्म सञ्चालन हुनेछ। लिगमा स्याङ्जाका ११ स्थानीय तह (नगरपालिका तथा गाउँपालिका) का टिमहरू प्रतिस्पर्धा गर्नेछन्।
गल्याङ नगरपालिकाको क्रिकेट टिम स्याङ्जा जिल्ला क्रिकेट टिमका कप्तान सन्दीप खत्रीको नेतृत्वमा मैदानमा उत्रनेछ। अनुभवी कप्तानको अगुवाइमा टिमले सशक्त प्रदर्शन गर्ने लक्ष्य राखेको छ। स्मार्ट टेक सोलुशन काठमाडौँको समर्थनले खेलाडीहरूलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनुका साथै स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा गरिएको छ।
इञ्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल प्रविधि, र सर्भेइङ समाधानमा अग्रणी स्मार्ट टेक सोलुशन काठमाडौँले प्रविधिको माध्यमबाट नेपालमा पूर्वाधार क्षेत्रलाई आधुनिक बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ। कम्पनीले सडक तथा भवन निर्माण, डिजिटल म्यापिङ, भू(उपयोग योजना, लागत व्यवस्थापन, तथा सर्भेइङ समाधान जस्ता क्षेत्रमा अत्याधुनिक प्रविधिहरूको प्रयोग गर्दै आएको छ। स्मार्ट टेक सोलुशन काठमाडौँले स्मार्ट रोड डिजाइन, भौगोलिक नक्सांकन, डिजिटल सर्भेइङ, लागत विश्लेषण, र पूर्वाधार व्यवस्थापनमा प्रभावकारी समाधान प्रदान गर्दै आएको छ।
सिर्फ प्रविधि र पूर्वाधार विकासमै सीमित नभई, स्मार्ट टेक सोलुशन काठमाडौँ खेलकुद प्रवर्द्धनमा पनि सक्रिय रहँदै आएको छ। यस पटक गल्याङ नगरपालिका क्रिकेट टिमलाई जर्सी प्रायोजन गर्दै स्थानीय क्रिकेटको विकासमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।
स्मार्ट टेक सोलुशन काठमाडौँका निर्देशक इञ्जिनियर नारायण भण्डारीले खेलकुदको प्रवर्द्धनमा लगानी गर्दै स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न पाउँदा खुशी लागेको बताएका छन्। गल्याङ नगरपालिका क्रिकेट टिमले स्मार्ट टेक सोलुशन काठमाडौँको साथमा स्याङ्जा क्रिकेट लिग २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ।