मालुङ्गामा विपद् व्यवस्थापन तालिम : विद्यार्थीलाई सक्षम बनाउने नेपाली सेनाको अभियान

२०८१ फाल्गुन ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा, ४ फागुन । गल्याङ नगरपालिका–१, मालुङ्गामा नेपाली सेनाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी दुई दिने आधारभूत तालिम सुरु भएको छ । श्री सार्वजनिक नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सुरु भएको उक्त तालिम सोमबारसम्म सञ्चालन हुनेछ। तालिममा कक्षा ८ देखि १२ सम्मका १३२ विद्यार्थी सहभागी छन्।

तालिम उद्घाटन समारोहमा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले नेपाली सेनाको यो अभियान प्रशंसनीय रहेको बताउँदै क्याप्टेन तथा तालिम टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विपद् व्यवस्थापनको ज्ञान विद्यार्थीहरूले व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै, “राज्यले शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरेको छ। यसलाई सदुपयोग गरी अवसर पहिचान गर्नुपर्ने बताउनुभयाे।

नगरप्रमुख भट्टराईले विद्यार्थीहरूलाई आफ्नो ऊर्जा, क्षमता र सीपलाई सही दिशामा प्रयोग गर्न प्रेरित गर्दै समाजले विद्यार्थीहरूप्रति ठूलो आशा राख्ने उल्लेख गर्नुभयो। उहाँले वर्तमान पुस्ताले प्रविधि र ज्ञानको उचित उपयोग गर्दै विपद् व्यवस्थापनलाई जीवनको एक महत्वपूर्ण पक्षका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमका अध्यक्ष एवं गल्याङ नगरपालिका–१ का वडाध्यक्ष मणिप्रसाद बस्यालले तालिमको महत्त्व दर्शाउँदै, “गल्याङका दुई विद्यालयमा मात्र सञ्चालन गरिएको यो कार्यक्रम सार्वजनिक नमुना विद्यालय भएकाले सम्भव भएको हो,” भन्नुभयो। उहाँले विद्यार्थीहरूलाई सिकाइको अवसरको अधिकतम उपयोग गर्दै घर र समाजमा व्यवहारिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो।

तालिमका प्रमुख प्रशिक्षक तथा नेपाली सेनाका सहसेनानी कल्याण थापाले सेनाले विपद् व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइरहेको जानकारी गराउँदै, “विपद्को समयमा सुरक्षित रहन र अन्यलाई पनि जोगाउन सक्ने सीप विकास गर्न यस्ता तालिम महत्त्वपूर्ण  रहेकाे बताउनुभयाे।

तालिममा दक्ष प्रशिक्षकहरूले विपद् न्यूनीकरण, आपत्कालीन उद्धार, प्राथमिक उपचार तथा जोखिम व्यवस्थापनका व्यवहारिक उपायहरूबारे प्रशिक्षण दिएका छन्।

विद्यालयका प्रधानाध्यापक चुरामणि पाण्डेले कार्यक्रममा सहभागी सम्पूर्णलाई स्वागत गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक शालिग्राम खनालले गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त तालिमले विद्यार्थीहरूलाई विपद् व्यवस्थापनसम्बन्धी आवश्यक ज्ञान प्रदान गर्नुका साथै समाजमा सचेतना फैलाउने महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय