नेपालकै पहिलो नवग्रह मन्दिर पर्यटन मन्त्री द्वारा उद्घाटन

२०८१ फाल्गुन ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा,७ फागुन । नेपालकै पहिलो नवग्रह मन्दिर सस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ मा बनेको बिश्वकै पहिलो नवग्रह मन्दिर मन्त्री पाण्डेले मंगलबार उद्घाटन गर्नुभएको हो ।

अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सवको समुदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि हुन मन्त्री पाण्डे स्याङ्जा पुग्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै उहाँले धार्मिक पर्यटनको लागि प्रशस्त सम्भावना बोकेको स्थलको रुपमा अघि बढाउन सकिने बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा जलबायु परिवर्तनको विषयमा समस्या रहेको उल्लेख गर्दै यसको समाधानको लागि सन्तुलन आवश्यक रहेको बताउनुभयो । “ग्रहहरू को संतुलन नमिल्दा बाताबरणमा समस्या आए जस्तै पृथ्बीले पनि सन्तुलन खोजिरहेको छ । पृथ्बी सन्तुलनमा रहन ग्रहहरू सन्तुलनमा रहनुपर्छ ” उहाँकाे भनाइ थियाे।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजु थापाले स्याङ्जा जिल्ला धार्मिक पर्यटनका हिसाबमा अघि रहेको उल्लेख गर्दै संघ र प्रदेशमा समन्वय गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय सम्भावना बोकेका गण्डकी र लुम्बिनी दुई प्रदेश जोड्नको लागि सिद्धार्थ राजमार्ग स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै अर्जुन चौपारी गाउँपालिकाको पहलमा नवग्रह मन्दिरले एक नयाँ आयाम थपेको उल्लेख गर्नुभयो । उहाँले धार्मिक पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन आवश्यक रहेको र पूर्बाधार निर्माणमा आफूले सक्ने पहल गर्ने बताउनुभयाे ।

गण्डकी प्रदेश सांसद कल्पना तिवारीले प्रदेशले पर्यटकीय सम्भावना बोकेका ठाउँहरूको खोजी गरिरहेको बताउँदै विकासमा पहल र प्रयास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नवग्रह मन्दिर निर्माणले पर्यटकिय सम्भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो ।

अर्जुनचौपारी गाउँपालिकाका प्रशासकीय अधिकृत कौशल पाण्डेले नवग्रह मन्दिरको विषयमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्थानिय तहका प्रमुख तथा उपप्रमुख, स्याङ्जा प्रहरी प्रमुख, राजनैतिक दलका प्रतिनिधि तथा सदस्य,बौद्धिक व्यक्तित्वहरू, धार्मिक विश्वासमा रहनु भएका बुद्धिजीवी शिक्षक शिक्षिका लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय