पूजा खड्का
स्याङ्जा, ७ फागुन । स्याङ्जा कै सभ्यता बोकेको आँधीखोला किनारको मालेबगरमा मंगलबार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सातौ स्याङ्जा महोत्सवको सुरु भएको छ। सातौं स्याङ्जा महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको हो।
उहाले कार्यक्रममा बोल्दै देश भित्र लगानी मैत्री वातावरण निर्माण गर्न देशलाई समृद्धिको बाटोतर्फ लैजान सरकारका साथमा निजी क्षेत्रको आवश्यक रहने बताउनुभयो। उहाले स्याङ्जा राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको जिल्ला बताउँदै पर्यटकीय, धार्मिक तथा पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना बोकेको जिल्लाको रुपमा रहेको व्यक्त गर्नुभयो। उहाले महोत्सव लाई व्यापारिक दृष्टिकोणबाट मात्र नभई वैचारिक दृष्टिकोण लाई उत्तिकै महत्व दिएर अघि बढ्नुपर्ने बताउनुभयो।
फागुन १८ गतेसम्म चल्ने उक्त महोत्सव करिब चार लाख दर्शकले अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ।
कार्यक्रम मा प्रतिनिधि सभा सदस्य राजु थापा ,गण्डकी प्रदेश सदस्य कल्पना तिवारी, सिता सुन्दास,भोजराज अर्याल,केदार काफ्ले, नेकपा एमालेका पारस गैह्रे,उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य दीपक लम्साल लगायत विविध पार्टी का प्रतिनिधि तथा सदस्य, महोत्सव प्रेमी बौद्धिक व्यक्तित्वहरू, विविध संघ संस्थाका आबद्ध प्रतिनिधि तथा सदस्यहरु, स्थानीय सर्वसाधारण को उल्लेखनीय सहभागिता रहेको स्याङ्जा महोत्सव निकै रमाइलो र रोचक रहेको थियो।
कार्यक्रममा वक्ताहरुले कृषि पर्यटनलाई जोड दिँदै स्थानीय आवश्यकता र महत्व हेरी उत्पादनमा जोड दिने विषयलाई प्राथमिकता दिँदै मेला महोत्सवले पनि स्थानिय स्तरमा रहने विषय लाई प्राथमिकता दिँदै विकास मा चलायमान गराउँदै अघि बढाउनुपर्छ भन्ने विषयलाई जोड दिनु भएको थियो।
महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु द्वारा स्टेज सो, बाल उद्यान, औद्योगिक व्यापार मेला, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, महिला विशेष कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित , आमा एकल नृत्य प्रतियोगिता, लोक भजन,ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुति पनि रहनेछ।
विविध संघ संस्था जाती धर्मका संस्कृति झल्कने गरी सामूहिक र्याली सहित सुरुवात गरिएको स्याङ्जा महोत्सव समुद्घाटन निकै रमाइलो र रोचक थियो।