नेपालकै पहिलो नवग्रह मन्दिरमा भक्तजनको घुइँचो

२०८१ फाल्गुन १३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङजा, १३ फागुन। तपोभूमिको रुपमा रहेको नेपाललाई धार्मिक एवम् आध्यात्मिक भूमि निर्माणका लागि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नेपालमै पहिलो नवग्रह मन्दिरको अनुष्ठान तथा गीताज्ञान एवम् धार्मिक महोत्सव सञ्चालन गरेको छ ।

छुट्टै पहिचान दिलाउने गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको हव बनाउने उद्देश्यले निर्माण गरीएको नवग्रह मन्दिरमा पछिल्लो समय भक्तजनहरुको निकै घुइँचो लागेको छ ।

नेपाल तथा भारतीय धार्मिक पर्यटक भित्राउने लक्ष्य सहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले नेपालमै पहिलो नवग्रह मन्दिर निर्माण गरेको छ । धार्मिक शास्त्रका अनुसार नवग्रहको पुजाआजा गरे मानिसमा सुख, शान्ति र सबै ग्रहदशाहरु नास हुने जनविश्वास रहेको छ । हिन्दुहरुले आफ्नो घरमा कुनै न कुनै रुपमा नवग्रहको पूजा गर्ने गर्दछन् । यही आस्थालाई मध्यनजर गर्दै नवग्रहको मन्दिरको अनुष्ठान तथा गीताज्ञान एवम् धार्मिक महोत्सव सञ्चालन गरेको पालिकाले जनाएको छ । जसमा दर्शनका लागि टाढा टाढाबाट धार्मिक भक्तजनहरुको निकै घुइँचो लागेको छ भने स्थानीयहरु गाँउ ठाउँमै धार्मीक क्षेत्र बनेकोमा भक्तजनहरु समेत खुसी देखिन्छन ।

नवग्रह मन्दिर अनुष्ठान तथा गीताज्ञान एवम् धार्मिक महोत्सव नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो ।
गाउँपालिका १ मा जलवराह धार्मिक वनमा स्थापना गरिएको मन्दिर परम्परा देखिनै चर्चित ठाउँ हो । वन परिसरमा ८ हेक्टर क्षेत्रफललाई समेटेर यो नवग्रह मन्दिर निर्माण गरिएको हो । भविष्यमा ध्यान केन्द्र र योगा गराउने स्थानका रुपमा विकसित गर्ने उद्देश्य पालिकाको रहेको छ । नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको छ । जुन २ सय ७७ फिटमा बनेको छ । नवग्रह मन्दिरमा नौ ग्रहको मुर्ति राखिएको छ । छिमेकी पालिका र अर्जुनचौपारी गाउँपालिका भित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्ने र जलवायु परिवर्तन गर्नका लागि नवग्रह मन्दिरले टेवा पुग्ने नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  पाण्डेले बताउनुभयो ।

नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माणले धार्मिक आस्थाको केन्द्र मात्र नभई आन्तरिक एवम् वाह्य पर्यटकहरुको केन्द्र बनाउन सकिने भएकोले यसको उचित प्रचारप्रसार गर्नु अनिवार्य रहेको छ । यस्ता धार्मिक पर्यटकीय स्थलहरुको सरकारी निकायबाटै संरक्षण एवम् सम्बर्द्धन गर्न सकेमा स्थानीयलाई समेत आर्थिक पक्षमा निकै टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय